२०८१ असोज २४, बिहिवार , ०४:२४:५६ बजे

Sajhamanch
'

बाढी पहिरोमा परेकाहरूको उद्धार, राहत, उपचार र सडक मर्मतमा सरकार लागेको छ : गृहमन्त्री लेखक

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले सरकारले बाढीपहिरोमा परेकाहरूको खोज, उद्धार, राहत, उपचार तथा सडक मर्मतलाई प्राथिमकताका साथ अगाडि बढाएको बताएका छन्।

प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा बोल्दै उनले असोज ११ र १२ गतेको विपद्पछि सरकार तत्कालै खोज तथा उद्धारमा सक्रिय भएको बताए।

राहत वितरण, घाइतेहरूको उपचार र अबरुद्ध भएका सडक सञ्जाल सुचारू गर्नका लागि सरकार क्रियाशील रहेको उनको भनाइ छ।

‘नख्खुमा सरकारको उपस्थिति भएन, सरकारले हेर्नै सकेन भन्ने होइन, हामीले प्रयत्न गरेको हो। सशस्त्र प्रहरी, नेपाल प्रहरी पनि त्यहाँ गएको छ। प्रहरीले उहाँहरूलाई उद्धार गर्ने प्रयत्न गरेको छ। हेलिकप्टरबाट पनि उद्धार गर्न सकिन्छ कि भनेर प्रयास गरिएको हो, प्रतिकूल मौसमका कारणले भएन,’ उनले भने, ‘त्यहाँ तीन जनाको उद्धार भयो। दुई जना बेपत्ता भएको अवस्था छ।’

मृतकको परिवारलाई गृह मन्त्रालयले घोषणा गरे अनुरुपको दुई लाख रुपैयाँ राहत ललितपुर जिल्लाले मंगलबार नै दिइसक्ने भनेको पनि उनले बताए। आवश्यकता भएको जिल्ला व्यवस्थापन समितिहरूमा प्राधिकरणबाट आवश्यक रकम पठाइएको पनि उनले बताए।

‘राहतका लागि रकमको अभाव भयो भने तत्काल रकम उपलब्ध गराइने कुरा सबैलाई जानकारी गराइएको छ। त्यसको सुनिश्चितता गरिएको छ। हामी अहिले खोज, उद्धार, राहत, बिरामीको उपचार, घाइतेको उपचार र सडक आवागमनलाई सुचारु गर्ने विषयमा केन्द्रित भएका छौँ,’ उनले भने।

गृहमन्त्री लेखकले विपदमा परेर हालसम्म २१८ जनाको मृत्यु भएको बताए। १४३ जना घाइते र २७ जना बेपत्ता रहेको उनको भनाइ छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्वयंसेवकले ४ हजार २२२ जनाको सुरक्षित उद्धार गरेको उनले बताए।

सम्बन्धित खबर