२०८१ असोज ३०, बुधवार , ०६:१२:०७ बजे

Sajhamanch
'

संजिवनी साकोस : अन्ली वानको अवधारणाका साथ अगाडि बढ्दै

सोमवार, असोज १४, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको संजिवनी बचत तथा ऋण सहकारी संस्था (संजिवनी साकोस)ले आफ्नो १७औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष यामकुमार चुडालको अध्यक्षता तथा नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कोन)का पूर्व कोषाध्यक्ष केशवप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।

साधारण सभा उद्घाटन समारोहमा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चुडालले २०६४ साल कात्तिक २७ गते दर्ता गरी सञ्चालनमा ल्याइएको सञ्जीवनी साकोस पछिल्ला केही वर्षदेखि ‘अन्ली वान’को अवधारणाका साथ अगाडि बढिरहेको बताए । सदस्य सेवाको माध्यमबाट फरक पहिचान स्थापित गर्न प्रयासरत रहँदै आएको संजिवनीले सदस्यलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै अभिभावकीय भूमिकासमेत निर्वाह गरिरहेको अध्यक्ष चुडालको भनाई छ ।

झापा जिल्लाको बिर्तामोड, अर्जुनधारा, भद्रपुर र कनकाई नगरपालिका तथा हल्दिबारी र बाह्रदशी गाउँपालिकाको सिङ्गो भूगोललाई सञ्जिवनी साकोसले आफ्नो कार्यक्षेत्र बनाएको छ । यस्तै झापा गाउँपालिकाको वडा नं. ४ र ६ तथा मेचीनगर नगरपालिकाको १५ मध्ये ९ वटा वडामा संस्थाले सेवा विस्तार गरेको जनाइएको छ ।

स्थापनाकालमा २५ जना सेयर सदस्यबाट सुरु गरिएको संजिवनीमा गत असार मसान्तमा २ हजार ५८ शेयर सदस्य रहेका छन् भने ३ करोड ३२ लाख १४ हजार ३०० रुपैयाँ शेयर पुँजी बनाइएको छ । अध्यक्ष चुडालले प्रतिवेदन वाचन गर्दै भने, संस्थाको मेरुदण्ड मानिने जगेडा कोषहरुमा ३ करोड ९९ लाख ८१ हजार ६१० रुपैयाँ, निक्षेप तथा बचतमा २७ करोड २० लाख ७ हजार ५६ रुपैयाँ पुर्याइएको छ । आर्थिक वर्ष २०८०/०८१ मा संस्थाले ३८ करोड ६९ लाख ९० हजार ६६४ रुपैयाँ ५७ पैसाको वासलात बनाएको छ भने गत आर्थिक वर्षको कारोबारबाट सदस्यहरुले ६ प्रतिशत शेयर बोनस र ३ दशमलव ५ प्रतिशत संरक्षित पुँजी फिर्ता कोषबाट प्रदान गरिने निर्णय भएको छ ।

सो साधारणसभा समारोहमा मन्तब्य राख्दै प्रमुख अतिथि पोखरेलले सहभागीहरुलाई सहकारी संस्था र यसको साधारण सभाको महत्व एवम् गरीमाका बारेमा प्रष्ट्याएका थिए ।

सहकारी ऐन २०७४ ले साधारण सभालाई विस्तारित मञ्चको एउटा रूप भनी परिभाषित गरेको भन्दै अग्रज सहकारी प्रशिक्षक पोखरेलले सामान्य नागरिकलाई मालिक बनाउने अभियान नै सहकारिता रहेको बताए ।

वित्तीय संकटले सहकारी सञ्चालन गर्न नयाँ ढंगको सुरुवात आवश्यक छ भन्दै उनले सदस्य शुद्धिकारण अभियान चलाउन ढिला गर्न नहुने सुझाव दिए । सदस्यको सक्रियताको मापन मासिक बचतबाट हुनुपर्छ भन्दै उनले संस्थामा नियमित आवतजावत र जिम्मेवारी पूरा गर्नुलाई मात्र सक्रियताको सूचक मान्न नसकिने पनि प्रष्ट पारेका थिए ।

‘आज सदस्यकै कारण सहकारी संस्थाहरु अप्ठ्यारोमा परेको हुन्’ सहकारी अभियन्ता पोखरेलले भने ‘सहकारीबाट आवश्यकता र उद्देश्य अनुसार मात्र ऋण लेनदेन गर्ने र नियमित मासिक किस्ता बुझाउने हो भने सदस्यहरुले न समस्याको किनारा लगाउनेछन् ।’

सदस्यहरुसँग दिगो सम्बन्ध स्थापना गर्न र कायम राख्न सहकारी संस्थाहरुले नियमितरुपमा विविध कार्यक्रमहरु गरिरहन आवश्यक छ भन्दै कार्यक्रमका प्रमुख अतिथि पोखरेलले सहकारीमा कूल सम्पत्तिको १० प्रतिशत शेयर रकम पुर्याउनै पर्छ, जोखिम व्यवस्थापनका लागि बाह्य ऋण ५ प्रतिशतमा सिमित राख्ने र ३५ प्रतिशत सदस्यहरुले संस्थाबाट ऋण कारोबार गरेमा मात्र संस्था सबल भएको मानिनेछ भने सुझाव दिए ।

सो कार्यक्रममा झापा जिल्ला सहकारी संघका सञ्चालक केशब बस्नेतले मन्तब्य राख्दै देशभर ३० हजारभन्दा बढी सहकारी संस्था रहे पनि ३० वटा खराब भइदिँदा सिंगो अभियानलाई दोषी देखाउन प्रयास गरिएको बताए ।

झापामा सञ्चालित सहकारीहरु खासमा खराब छैनन् । हामीले हरेक सहकारीका बारेमा सुक्ष्म अध्ययन गरिरहेका छौँ । तर सहकारी अभियान भन्ने वित्तिकै प्रश्न उठ्न थालेको छ । सहकारीमा पैसा राख्ने कि नराख्ने भन्ने सोच्न बाध्य हुनुपरेको छ । यसको अन्त्यका लागि सञ्चालक र सदस्यहरु नै बढी गम्भीर बन्नुपर्ने उनको सुझाव थियो ।

संस्थाका सचिव मेघराज बाँस्तोलाले सञ्चालन गरेको सो वार्षिक साधारण सभा समारोहमा आमन्त्रित अतिथि र सहभागी सदस्यहरुलाई सञ्चालक समितिका उपाध्यक्ष दिनेशकुमार सुवेदीले शाब्दिक स्वागत गरेका थिए । समारोहमा लेखा सुपरीवेक्षण समितिका संयोजक कमला शिवाकोटीले आफ्नो समितिको प्रतिवेदन पेश गरिन् ।

साधारणसभा समारोहमा संस्थाका चारजना असल बचतकर्ता सदस्यहरु गोपाल खरेल, टिका लिम्बू, लीलादेवी सुवेदी र खगेन्द्रकुमार मैनाली मायाको चिह्नोसहित सम्मानित भए । यसैगरी, चार जना असल ऋण कारोबार गर्ने सदस्यहरु विकास खतिवडा, मनमाया दाहाल, अर्जुन श्रेष्ठ र एकमाया तिम्सिना पनि मायाको चिह्नोसहित सम्मानित भए ।

गतवर्षको माद्यमिक शिक्षा परीक्षा एसईईमा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने संस्थाका शेयर सदस्यका छोराछोरीहरु मोहित खरेल, कृष्पा चुडाल र रिजन गिरीलाई साधारण सभाको समारोहका बीच मायाको चिह्नोसहित पुरस्कार प्रदान गरिएको थियो ।