२०८१ असोज ३०, बुधवार , ०६:१२:२२ बजे

Sajhamanch
'

शिक्षा बहुउद्देश्यीय सहकारीको साधारणसभा शुरु, पहिलो दिन धुलाबारीमा छ जना सम्मानित

बुधवार, असोज ९, २०८१

मेचीनगर । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा अन्तरगत आजदेखि इकाइगत साधारण सभा सुरु भएको छ ।

संस्थाको सदस्य सेवा केन्द्र धुलाबारीका सदस्यहरु माझ प्रथम इकाइगत साधारणसभा सम्पन्न गरिएको हो । संस्थाका अध्यक्ष सुब्रत न्यौपानको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन संस्थाका सल्लाहकार संयोजक सावित्राकुमारी लिम्बूले गरेकी थिइन् ।

संस्थाका अध्यक्ष सुब्रत न्यौपानले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै बजारमा आर्थिक मन्दीको व्यापक प्रभाव परे पनि संस्थाको शेयर पुँजी क्रमशः बृद्धि हुँदै गएको बताए । उनले गत आव २०८०/०८१ मा संस्थाको शेयर पुँजी ३ करोड ५५ लाख १० हजार ३००, कोष हिसाब २ करोड २० लाख १ हजार ६९ रुपैयाँ रहेको सुनाएका थिए । शेयर र कोष बृद्धिले संस्थालाई अझ बलियो बनाउँदै लगेको अध्यक्ष न्यौपानेको भनाइ छ ।

त्यस्तै, कार्यक्रममा संस्थाका लेखा समिति संयोजक युवराज निरौलाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै बचत संकलन १८ करोड ५१ लख ४१ हजार ४०० रुपैयाँ पुगेको जानकारी दिए । उनले संस्थामा बचत बृद्धिको थप योजना ल्याउनुपर्ने सुझाव दिएका थिए ।

यस्तै, संस्थाका उपाध्यक्ष एवम् ऋण उपसमिति संयोजक हेमराज मिश्रले ऋण लगानीका प्रमुख क्षेत्र, रकम र ब्याजदरका बारेमा सदस्यलाई अवगत गराएका थिए । संस्थामा ३८६ जना महिला र ४५७ जना पुरुष गरेर ८४३ जना सदस्यलाई १८ करोड २० लाख ५ हजार ८८३ रुपैयाँ ऋण लगानी गरिएको उनले जानकारी गराए ।

कार्यक्रममा सेवा केन्द्र अन्तरगतका उत्कृष्ट सदस्यलाई सम्मान गरिएको छ । उत्कृष्ट ऋण कारोबारी सदस्य भीमकुमार विष्ट, उत्कृष्ट आवधिक बचतकर्ता रविना बस्नेत, उत्कृष्ट साधारण बचतकर्ता भीमप्रसाद पौडेल, उत्कृष्ट शिक्षा बचतकर्ता आर्यन÷ आरुष मेचे, गत एसईईमा उत्कृष्ट नतिजा ल्याउने पुष्पकमल रिजाल र सौरभ दियालीलाई पुरस्कारसहित सम्मान गरिएको हो ।

इकाइगत साधारणसभाबाट तीन जना प्रतिनिधि छनोट गरिएको छ । अन्तिम माइन्युट प्रमाणीकरणका लागि इकाइगत साधारणसभाले लक्ष्मी पाठक, चन्द्रमणि क्षेत्री र दिलमाया श्रेष्ठलाई प्रतिनिधि छनोट गरिएको हो ।

संस्थाका सचिव सूर्यकुमार खतिवडाले सञ्चालन गरेको कार्यक्रमको स्वागत उपाध्यक्ष हेमराज मिश्रले गरेका थिए । संस्थाको इकाइगत साधारणसभा अन्तरगत भोलि १० गते सदस्य सेवा केन्द्र दुहागढीको राम जानकी मन्दिर, धाइजनमोडमा इकाइगत साधारण सभा हुनेछ ।

आजदेखि सुरु भएको संस्थाको इकाइगत साधारण सभा १६ गतेसम्म हुनेछ भने अन्तिम माइन्युट प्रमाणीकरण भेला १६ गते अपरान्ह बिर्तामोडस्थित अग्रसेन भवनमा हुने संस्थाले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।