२०८१ कार्तिक २२, बिहिवार , ०१:३७:४६ बजे

Sajhamanch
'

दशैँअघि ३ हजार ८५६ किलोमिटर सडक खाल्डारहित बनाउने सरकारको लक्ष्य

बुधवार, असोज ९, २०८१

काठमाडौं । दशैँ शुरु हुन अब केही दिन मात्रै बाँकी छ । सरकारले दशैँमा काठमाडौं उपत्यका छोड्ने यात्रुका लागि यही असोज १२ गते शनिवारदेखि अग्रिम टिकट खुलाउने निर्णय गरिसकेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले दशैँका लागि १५ देखि १८ लाख मानिसले काठमाण्डौ छाड्ने अनुमान गरेको छ ।

यसका लागि ५ हजारदेखि ६ हजार सार्वजनिक गाडी तयारी अवस्थामा राखिएको छ । काठमाडौं उपत्यकामा पनि सुरक्षा व्यवस्था सुस्त पार्ने गरी तयारी भइरहेको छ । कतिपय सडक अहिले पनि निर्माण भइरहेका छन् । कतिपय ठाउँमा मर्मतसम्भारको काम चलिरहेको छ ।

विशेषगरी दशैँअघि ३ हजार ८५६ किलोमिटर सडक खाल्डारहित बनाउने सरकारको लक्ष्य छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक मर्मतलाई तीव्रता दिँदै घटस्थापनाअघि नै खाल्डाखुल्डी पुर्न र सडक सुरक्षा बढाउन मातहतका निकायलाई निर्देशन दिइसकेका छन् ।

सडक विभागका प्रवक्ता उमेशविन्दु श्रेष्ठले सडक विभाग मातहतपर्ने भत्किएका तथा खाल्डाखुल्डी भएका ठाउँमा मर्मत भइरहेको बताएका छन् । चाडपर्वका बेलामा आवतजावत बढी हुने, गाडीको गति असीमित हुनसक्ने र दुर्घटनाको जोखिम बढ्नसक्ने भएकाले निगरानी र अनुगमनलाई पनि थप प्रभावकारी बनाउने जिम्मेवार निकायले दाबी गरेका छन् ।

सरकारले चालु आर्थिक वर्षका लागि भत्किएका तथा बिग्रिएका सडक मर्मतसम्भारका लागि छ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । सडक विभागका अनुसार विभाग मातहत देशभर १८ हजार ९७ किलोमिटर सडक रहेको छ ।

पूर्वाधारविद् राजेन्द्रराज शर्माले सडक निर्माणमा गुणस्तरमा ध्यान नदिने, क्षमताभन्दा बढी लोडको गाडी गुडाउने तथा अन्तरसरकारी निकायबीच प्रभावकारी समन्वयको अभावमा वर्षेनि यात्रुले दुःख पाउने गरेको बताए।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्वराज खड्काले दशैँमा आवतजावत गर्नेको सङ्ख्या बढ्ने हुँदा सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै व्यवस्थापन प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको बताए।

सम्बन्धित खबर