![](https://sajhamanch.com/wp-content/uploads/2024/09/Mananiya-Devendra-Dahal.jpeg)
काठमाडौ । नेपाली इन्जिनियरहरुको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुलेको छ ।
यसका लागि नेपाल इन्जिनियरिङ काउन्सिलले प्रक्रिया अघि बढाएको हो । सोमबार इन्जिनियरहरुको अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्ने निकाय वासिङ्टन एकडका अध्यक्ष काई साङ् लकसँग प्रारम्भिक अन्तरक्रिया भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा भएको छलफलमा विभिन्न विश्वविद्यालयका पदाधिकारीहरुले समेत यो प्रक्रियालाई अघि बढाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा मन्त्री दाहालले नेपाली इन्जिनियरहरुको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाका लागि आवश्यक नीतिगत तथा कानूनी प्रक्रियाका लागि मन्त्रालय तयार रहेको बताए ।
‘यो प्रकृया अघि बढाउन निक्कै ढिला भएको छ’ मन्त्री दाहालले भने, ‘तर ढिलै भए पनि प्रक्रियाको थालनी भयो, सबै मिलेर यसलाई अवरुद्ध हुन नदिई पूरा गर्नुपर्छ ।’
सोही कार्यक्रममा वासिङ्टन एकडका अध्यक्ष काई साङ् लकले नेपालले थालेको प्रक्रिया पूरा हुनेमा विश्वास व्यक्त गरे । उनले इन्जिनियरीङका क्षेत्रमा अन्वेषण, अनुसन्धान तथा नवप्रवर्तनमा जोड दिनुपर्ने आवश्यकता पनि औंल्याएका थिए ।
त्रिभुवन विश्वविद्यालय इन्जिनियरीङ अध्ययन संस्थानका प्रा.डा. नरेन्द्रमान शाक्यले नेपालमा इन्जिनियरीङ शिक्षा तथा पेशागत अवस्थाका बारेमा आफ्नो प्रस्तुति दिएका थिए ।