२०८१ असोज ४, शुक्रवार , ०३:५२:४० बजे

Sajhamanch
'

रश्मी घिसिङले ५ गोल गर्दा कोशीमाथि एपीएफको फराकिलो जीत

शुक्रवार, असोज ४, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कोशी प्रदेशलाई हराएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा एपीएफले कोशीलाई ८–० गोलले हरायो । पहिलो हाफमा २ गोल गरेको एपीएफले दोस्रो हाफमा थप ६ गोल गर्‍यो । एफीएफका लागि रश्मीकुमारी घिसिङले ५ गोल गरिन् । यस्तै अनिता बस्नेतले २ र अनिता केसीले १ गोल गरिन् ।

यो जीतसँगै एपीएफले अपराजित यात्रा कायमै राखेको छ । एपीएफ ७ खेलमा १९ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । कोशी उति नै खेलमा १० अङ्कसहित पाँचौं स्थानमा छ ।

एन्फा महिला लिगमा आजै त्रिभुवन आर्मी क्लब र रौतहटको चन्द्रपुर नगरपालिका खेल्दैछन् । यो खेल एन्फा कम्प्लेक्सको मैदानमा अहिले दिउँसो साढे ३ बजे खेल्दैछन् । आर्मी तालिकाको दोस्रो र चन्द्रपुर छैटौं स्थानमा छ ।