काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी बचत रकम दुरुपयोग भएको सम्बन्धमा प्रतिवेदनलाई आधार बनाएर कारबाही अघि बढाइने बताएका छन् ।
बुधवार गणेशमान सिंहको २७ औँ पुण्य तिथिमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
उनले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले संसदमा प्रतिवेदन पेस गरिसकेको र सभामुख देवराज घिमिरेले पनि सरकारलाई समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिइसकेको भन्दै अब सोही प्रतिवेदनलाई आधार बनाएर सरकारले कारबाही सुरु गर्ने बताए ।
उनले समितिले दिएको प्रतिवेदनको अध्ययन गरी मन्त्रीपरिषद्मा छलफल गरेर कारबाही प्रक्रिया अघि बढाइने बताए ।
सो अवसरमा उनले गणेशमान सिंहको प्रतिमामा माल्यार्पणसहित पुष्पगुच्छासमेत अर्पण गरेका थिए । उनले नेपालमा प्रजातन्त्र स्थापना गर्न र त्यसपछि पनि प्रजातन्त्रको संरक्षणका लागि नेतृत्वदायी भूमिका गणेशमानले गरेको बताए ।