२०८१ असोज ३, बिहिवार , ०४:३१:४९ बजे

Sajhamanch
'

दुई महिनामा १ खर्ब ६६ अर्ब राजस्व सङ्कलन, १ खर्ब ३७ अर्ब रुपैयाँ खर्च

मङ्गलवार, असोज १, २०८१

काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा लक्ष्यको ११ दशमलव ७२ प्रतिशत राजस्व सङ्कलन भएको छ । चालू आर्थिक वर्षमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य लिएको छ ।

साउन र भदौमा गरेर १ खर्ब ६६ अर्ब ३८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । यसतर्फ २१ अर्ब ११ करोड रुपैयाँ गैरकर र ३ अर्ब १३ करोड रुपैयाँ अन्य प्राप्ति रहेको छ ।

यो आर्थिक वर्षमा सरकारले ५२ अर्ब ३२ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने अनुमान गरेकोमा दुई महिनासम्म वैदेशिक अनुदान प्राप्त भएको छैन ।

यस्तै दुई महिनामा ७ दशमलव ३९ प्रतिशत बजेट खर्च भएको छ । चालू आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा साउन र भदौमा १ खर्ब ३७ अर्ब ५५ करोड रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

यसमध्ये चालूतर्फ ८२ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ अर्थात् ७ दशमलव ३९ प्रतिशत खर्च भएको छ । यस्तै पूँजीगततर्फ १४ अर्ब ८९ करोड ४० लाख रुपैयाँ अर्थात् लक्ष्यको ४ दशमलव २३ प्रतिशत खर्च भएको छ ।

यस्तै वित्तीय व्यवस्था अर्थात् ऋण तिर्न र शेयर लगानीका लागि तीन खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन भएकोमा दुई महिनामा ३९ अर्ब ६७ करोड २२ लाख रुपैयाँ खर्च भएको छ । सरकारी खर्चमध्ये सबैभन्दा धेरै १० दशमलव ८ प्रतिशत वित्तीय व्यवस्थातर्फ रहेको छ ।

सम्बन्धित खबर