२०८१ पौष २६, शुक्रवार , ०३:२३:०४ बजे

Sajhamanch
'

शिवसताक्षीमा रिक्त प्रमुख प्रशासकीय अधिकृत आजबाट कार्यालयमा हाजिर

सोमवार, भदौ ३१, २०८१

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुनिता तुम्वाहाङ्फेले जिम्मेवारी लिएकी छन् । नगरपालिका स्थापना भएपछि ११औं प्रमुख प्रशासकीय अधिकृतको रुपमा तुम्बाहाङ्फे सरुवा भई आएर जिम्मेवारी सम्हालेकी हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सुनिता स्थानीय तहमा पहिलो जिम्मेवारी लिँदै प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएकी हुन् । उनले निजामति सेवामा प्रवेश गरेपछि अर्थ मन्त्रालय, सम्पती शुद्धिकरण विभाग, प्रधानमन्त्री कार्यालय हुँदै पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा काम गरेकी छन् ।

आज शिवसताक्षी नगरपालिकामा नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, वडाध्यक्षहरु र कर्मचारीहरुले उनलाई कार्यालयमा स्वागत गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत तुम्वाहाङ्फेलाई स्वागत गर्दै नगरप्रमुख थोप्राले कर्मचारीको र जनप्रतिनिधिको पालिकामा प्रवेश गर्ने बाटो फरक भएकाले कहिले काहीँ केही समस्या हुने गरेको स्मरण गराए ।

‘जनप्रतिनिधि भोटबाट र कर्मचारी लोकसेवाबाट आउँदा आ-आफ्ना जिम्मेवारी हुन्छन् । कर्मचारीले कानुनको नियमको परिधित्र रहेर काम गर्नुपर्ने बाध्यता र जनप्रतिनिधिले व्यवहारिक जनताको गुनासो प्रत्यक्ष सुन्नु पर्ने र त्यसको लागि काम गर्नु पर्ने हुँदा यसलाई समायोजन गरेर सहज ढंगले काम गर्नुपर्ने बाध्यता रहेको’ नगरप्रमुख थोप्राको भनाई थियो ।

कार्यक्रममा नगर उपप्रमुख नरमाया कार्की, वडाध्यक्षहरु लक्ष्मी चेम्जोङ्ग, भिम नेम्वाङ्ग, भाष्कर न्यौपाने, भवानी विक्रम चेम्जोङ्ग र बहादुर आङ्गबोले मन्तव्य राखेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत सम्वाहम्फेले स्थानीय तहको अनुभव नभए पनि ऐन कानुनको परिधि भित्र रहेर नगरमा सुशासन कायम गर्दै र विकास निर्माणका कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाइन् ।

सम्बन्धित खबर