२०८१ पौष २५, बिहिवार , ०२:४०:४८ बजे

Sajhamanch
'

मेचीनगरमा बजार अनुगमन, गुणस्तरहिन र म्याद नाघेको खाद्यान्न छ्यापछ्याप्ती

सोमवार, भदौ ३१, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाले गुणस्तरहिन र म्याद नाघेको खाद्यान्न सामाग्री बिक्री वितरण रोक्न बजार अनुगमनलाई तीब्रता दिएको छ । नगरपालिकाले बजार अनुगमनमा कडाई गर्दा केही व्यापारीहरू भने आफ्नो सटर बन्द गरेर भाग्ने गरेका छन् ।

बजारमा छ्यापछ्याप्ती गुणस्तरहिन र म्याद नाघेको खाद्यान्न सामाग्रीहरू रहेको हुनसक्ने भन्दै त्यसलाई नियन्त्रण गर्न बजार अनुगमनमा कडाई गरिएको नगरपालिकाले जनाएको छ । खाद्यान्न मानिसको स्वास्थ्यसंग प्रत्यक्ष जोडिने भएको हुँदा त्यस्ता सामाग्री बिक्री वितरण गर्दा उपभोग गर्न योग्य हुनु अनिवार्य रहेको नगरपालिकाका खाद्य विश्लेषक दिपेन्द्र कार्की बताउँछन् ।

कार्कीको नेतृत्वमा आइतबार सुरू भएको अनुगमनमा अधिकांश पसलमा गुणस्तरहिन र म्याद नाघेको खाद्यान्न सामाग्रीहरू पाइएको छ । नगरपालिकाले पहिलो पटक अनुगमनमा व्यवसायीहरुलाई सम्झाई बुझाई गरेको र पुनः यस्तै घटना दोहोरिए कानुनी कारवाही गरिने उनको भनाई छ।

अनुगमनका क्रममा टोलीले धुलाबारीको पौडेल किराना पसल, श्यामसुन्दर किराना पसल, विजय किराना पसल, पूजा किराना पसल र आदर्श किराना पसल लगायतका खाद्यान्न पसलहरुमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा गुणस्तरहिन र म्याद नाघेको हर्लिक्स, जौको चामल, सस, रसबरी मिठाइँ, ग्लोकुज, बच्चाको मिठाईलगायत सामग्रीहरु ती पसलबाट जफत गरिएको कार्कीले जानकारी दिए ।

नेपालीहरुका मुख्य चाडपर्व नजिकिएसँगै कालोबजारी हुनसक्ने सम्भावना भएको कारण बजार अनुगमनलाई तीब्रता दिइएको बताउँदै उनले यो कार्य अब निरन्तर चल्ने पनि जानकारी दिए ।

नगरपालिकासँगै जिल्ला प्रशासन कार्यालय झापा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, मेची उद्योग वाणिज्य संघ, उपभोक्ता जागरण अभियान र नेपाल प्रहरीको टोली अनुगमनमा खटिएको थियो ।

सम्बन्धित खबर