![](https://sajhamanch.com/wp-content/uploads/2024/09/samsad-2.jpg)
काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन्।
आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सारेर दुई बजे हुँदै ३ः१५ बजेसम्म पुर्याइएको थियो। अपराह्न ४ बजेसम्म पनि बैठक बस्ने अवस्था नदेखिएपछि स्थगित गरिएको हो।
सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम पनि छ। नेकपा (माओवादी केन्द्र) ले हिंसा शब्द रेकर्डबाट नहटाएसम्म सदन चल्न नसक्ने जानकारी सभामुख घिमिरेलाई दिएको थियो।
नेकपा (एमाले) का सांसद योगेश भट्टराईले गत भदौ १२ गते प्रतिनिधि सभामा माओवादी ‘जनयुद्ध’ लाई लक्ष्य गरी त्यसबेला हिंसा भएको बताएका थिए। यो अभिव्यक्तिले ‘जनयुद्ध’ को मानमर्दन गरेको भन्दै रेकर्डबाट हटाउन माओवादीले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएको थियो।
सभामुख घिमिरेले हिंसा शब्द असंसदीय नरहेको रुलिङ गरेपछि फेरि यो विषयलाई लिएर विवाद भइरहेको छ। एमाले र माओवादीका सांसदहरू यो विषयलाई लिएर आरोपप्रत्यारोपमा छन्।
माओवादी केन्द्रका सांसदहरूले सभामुख घिमिरेलाई भेटेर सदनलाई थप द्वन्द्वतिर नलैजान आग्रह पनि गरेका थिए।