२०८१ पौष २६, शुक्रवार , ०१:४९:३८ बजे

Sajhamanch
'

विषादीयुक्त सागसब्जी नेपाल भित्रिन नदिन क्वारेन्टाइन जाँचमा कडाई आवश्यक

आइतवार, भदौ ३०, २०८१

झापा । कोशी प्रदेशका खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीले भारतमा अत्याधिक विषादी प्रयोग गरेर उत्पादन गरिएको सागसब्जी नेपालतर्फ पठाएर यहाँको जनस्वास्थ्यमा नकारात्मक असर परिरहेकाले भन्सार बिन्दूमै क्वारेन्टाइन जाँचमा कडाइ गर्नुपर्ने सुझाएका छन् ।

शनिबार झापाको बिर्तामोडमा आयोजित उपभोक्ता जागरण अभियान नेपालको तेस्रो केन्द्रीय राष्ट्रिय अधिवेशनको उद्घाटन पछि मन्तब्य राख्दै मन्त्री कार्कीले स्थानीय सरकारलाई त्यस्तो सुझाएका हुन् ।

‘अखाद्य वस्तुको प्रयोगले बिरामीको संख्या बढ्न थालेको छ’ मन्त्री कार्कीले भने ‘भारतमा उत्पादन गरेर नेपाल पठाउने सागसब्जी तरकारीमा विषादीको मात्रा अत्याधिक हुने भएकाले आफ्नै बारीको उत्पादनतर्फ लाग्नुपर्ने समय आएको छ ।’

‘झापामा पनि काँचो केरा, लट्टेको साग लगायतमा उच्च मात्रामा विषादी पाइएको समाचारहरु आएका छन् । विषादीको यस्तो विवेकहीन प्रयोगले प्रत्येक घरमा क्यान्सरका रोगीहरु थपिन थालेको कहालीलाग्दो अवस्था छ, यसतर्फ सबैले चनाखो भएर काम गर्नुपर्ने आवश्यकता देखिन्छ’ मन्त्री कार्कीको भनाई थियो ।

मन्त्री कार्कीले थपे, ‘नेपाल डब्लुटिओको सदस्य भएकाले भारतलाई सोझै त्यस्ता बस्तु नपठाउ भन्न सकिन्न । तर खान लायक छ कि छैन भन्ने कुरा जाँचेरमात्र भित्राइयो भने धेरैहदसम्म यो राकिने भएकाले भन्सार बिन्दूमा नै क्वारेन्टाइन चेकजाँच गरिनु पर्छ ।’

‘उपभोक्तावादी संघ–संस्थाले पनि यस्तो विषयमा निरन्तर खबरदारी गरेर उपभोक्तालाई सचेत बनाउने तथा स्थानीय सरकारले अनुगमनलाई तिब्र बनाएर त्यस्तो अखाद्य वस्तु भेटे स्पोटमा कारबाही गर्नुको विकल्प नहुने’ उनको जोड थियो ।

सो कार्यक्रममा मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले डाक्टरले मात्र बिरामीलाई इन्जेक्सन लगाउने गरेका थिए अब त तरकारीमा पनि इन्जेक्सन लगाउन सुरु भएकोमा चिन्ता व्यक्त गरेकी थिइन् ।

यस्तै, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले भारत वा कहीँबाट पनि विषादी भएको वस्तु कसैले ल्याएमा नाम गोप्य राख्ने गरी सूचना दिन आह्वान गरेका छन् । त्यस्तो फेला परेको सूचना पाए कानून अनुसार जरिवना र दण्ड गरिने उनको भनाई छ ।

सो अधिवेशनको अध्यक्षता गरिरहेका उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले जनतालाई सचेत र सरोकारवालालाई सगज बनाउन सरकारलाई उपभोक्ता अदालत गठन गर्न माग गरेका थिए ।

जनप्रतिनिधिप्रति लक्षित गर्दै अध्यक्ष मार्सेलीले भने– ‘हाम्रो काम भुक्ने हो । तपाईहरु टोक्नुहोस् । दिनभरि–रातभरि हामी भुक्ने । तर, तपाईहरु सुतिदिनु भयो भने समस्या हुन्छ । अहिलेसम्म भएको यथार्थ त्यही हो ।’

उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय उपाध्यक्ष सुशीलाकुमारी दवाडी सुवेदीले शाब्दिक स्वागत गरेको कार्यक्रमको सञ्चालन झापा सचिव विशाल थापाले गरेका थिए ।

सम्बन्धित खबर