२०८१ पौष १९, शुक्रवार , १२:००:५५ बजे

Sajhamanch
'

इनभेन्चरमा बाल दिवस : नाटकसहित गीत नृत्य प्रस्तुति

शनिवार, भदौ २९, २०८१

बिर्तामोड । यहाँस्थित इन्भेन्चर एजुकेशन एकाडेमीले ६०औं बाल दिवसको अवसरमा शुक्रबार आफ्ना विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन हुने खालका विविध साँस्कृतिक कार्यक्रम सञ्चालन गरेको छ ।

‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने नारा दिइएको यस वर्षको राष्ट्रिय बाल दिवस (भदौ २९ गते) शनिबार परेकाले शुक्रबार नै विद्यालयले विविध कार्यक्रम सम्पन्न गरेको हो ।

विद्यालयका संस्थापक/प्रिन्सिपल अमृत बस्नेतको अध्यक्षतामा आयोजित छुट्टाछुट्टै कार्यक्रममा पूर्वप्राथमिक कक्षाका बालबालिकाले नृत्य तथा गायन प्रस्तुत गरेका थिए । पूर्वप्राथमिक कक्षाकै नानी बाबुहरु देवान्सेस खतिवडा र बोनिता पोखरेलले औपचारिक कार्यक्रमको सञ्चालन गरेका थिए ।

यसैगरी, आधारभूत तह र माद्यमिक तहका विद्यार्थीहरुले पनि कराते खेलको प्रदर्शनीसहित गायन र नृत्य पस्किएका थिए । दोस्रो चरणको कार्यक्रमको सञ्चालन आधारभूत तह र माद्यमिक तहका एरिका पराजुली र विविसा खड्काले गरेका थिए ।

सो कार्यक्रममा शिक्षक नारायण राजवंशीको निर्देशनमा विद्यार्थीहरुले बाल अधिकार शीर्षकको एउटा चेतनामुलक नाटक मञ्चन गरेका थिए । बालदिवस विशेष सांस्कृतिक कार्यक्रममा सहभागीहरुलाई विद्यार्थी सोमिया मिश्रले शाब्दिक स्वागत गरेकी थिइन् ।

यसैबीच, बाल दिवसको अवसरमा बिर्तामोडमा सञ्चालित नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा इन्भेन्चर एजुकेशन एकाडेमीमा कक्षा ८ मा अध्ययनरत छात्रा प्रश्ना प्रसाईंले द्वितिय स्थान हासिल गरेको विद्यालयले जनाएको छ ।

मन्टेश्वरी विधिमा पूर्व प्राथमिक तहको कक्षा सञ्चालन गर्ने सो विद्यालयले हरेक नेपालीले आफ्ना प्रचलित सांस्कृतिक चाडपर्वहरु, परम्परागत मान्यता, राष्ट्रिय दिवसहरु एवम् धर्म संस्कारको जगेर्ना गर्नुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै बालबालिकालाई यस्तो सांस्कृतिक कार्यक्रम गराउँदै आएको छ ।

सम्बन्धित खबर