२०८१ असोज १, मङ्गलवार , १०:११:३७ बजे

Sajhamanch
'

कर वृद्धिविरुद्ध मोरङमा आन्दोलन, रंगेली बजार र यातायात बन्द

शुक्रवार, भदौ २८, २०८१

विराटनगर । मोरङको रंगेली नगरपालिकामा कर वृद्धिको विरोधमा नेपाली कांग्रेसले सुरू गरेको आन्दोलन अराजकतातर्फ उन्मुख हुँदै गएको छ ।

सत्तारुढ दल नेपाली कांग्रेसको अगुवाइमा भइरहेको आन्दोलन थप उग्र बन्दै गएको हो । आन्दोलनकारीले प्रदर्शन गर्दै शुक्रबार रंगेली बजार र यातायात बन्द गराएका छन् ।

मुख्य सडकमा रोक लगाइएपछि प्रहरीले भित्री सडकबाट सवारीसाधन सञ्चालन गराएको छ । बन्दका कारण बजार र यातायात ठप्प भएको छ । त्यसअघि कार्यालय प्रवेशमा रोक लगाउँदै कर्मचारीमाथि हातपात एवं दुव्र्यवहार गरिएको रंगेली नगरपालिकाका प्रवक्ता ढकप्रसाद आचार्यले बताए ।

उनका अनुसार बिहान ९ बजेदेखि नै आन्दोलनकारी नगरपालिका गेटमा बसेर कर्मचारीलाई कार्यालय प्रवेशमा अवरोध गरेका थिए । ‘आन्दोलनकारीहरू ९ बजेदेखि नै भेला भएर गेटमा बसेका थिए । कर्मचारीलाई कार्यालय प्रवेशमा अवरोध गरे,’आचार्य भन्छन्, ‘कर्मचारीमाथि हातपात र दुव्र्र्यवहार भएको छ । बजार र यातायात बन्द गराएका छन् ।’

त्यस क्रममा प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ । रंगेली–२ का ४३ वर्षीय सुवास सिग्देललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

उनी कांग्रेस मोरङ क्षेत्र नम्बर २ का सचिव रहेको जानकारी प्रहरीले दिएको छ । प्रहरीका अनुसार उनीलगायतले कर्मचारीमाथि हातपात र दुव्र्यवहार गरेका थिए ।

आन्दोलनको नेतृत्व कांग्रेस मोरङका सचिव मोदराज घिमिरे र रंगेली नगर सभापति जगरनाथ मण्डलले गरिरहेका छन् । कर्मचारीलाई अवरोध गर्ने योजनासहित आज बिहानदैखि करिब १५० जनाको संख्यामा कांग्रेस कार्यकर्ताहरु नगरपालिकाअगाडि भेला भएका थिए ।

आन्दोलनको नेतृत्वकर्ता घिमिरे गत स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)का दिलिप बगडियासँग मेयरमा पराजित भएका थिए । नगरपालिकाले भूमि तथा मालपोत कर वृद्धि गरेको भन्दै केही दिनदेखि कांग्रेसले आन्दोलन गरिरहेको छ ।

मेयर बगडिया भाइको उपचारका लागि भारतमा छन् । उनी भारत भएकै बेला कांग्रेसले आन्दोलन चर्काएको हो । वृद्धि गरिएको कर तत्काल नघटाए आन्दोलनलाई थप सशक्त बनाउने घोषणा कांग्रेसको छ ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासमेत गत बुधबार आन्दोलनमा उपस्थित भएर नारा जुलुस र प्रदर्शनमा सहभागी भएका थिए ।

मोरङको धनपालथान गाउँपालिकाका अध्यक्ष जीवछप्रसाद गच्छदार पनि बिहीबार आन्दोलनमा साथ दिए पुगे । एउटा पालिकाविरुद्ध भएको आन्दोलनमा साथ दिन थालेपछि अर्को पालिकाका प्रमुख तथा जनप्रतितिधि विवादमा तानिन थालेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले सम्भावित घटनालाई मध्यनजर गरेर रंगेलीको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए । ‘कुनै अप्रिय घटना हुन नदिन सुरक्षा सतर्कता बढाइएको छ,’ उनले भने, ‘विभिन्न युनिनबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।’

कुनै पनि उच्छृङ्खल गतिविधि भएमा त्यसमा संलग्नलाई तत्काल नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याइने डीएसपी बस्नेतले बताए । उनले बन्द गराइएको बजार र यातायात खुलाउने प्रयास भइरहेको जानकारी दिए ।

सम्बन्धित खबर