
काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दैछ । आज (शुक्रबार) साँझ पाँच बजे परिषद्को बैठक बस्ने भएको हो ।
संवैधानिक परिषद्को अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गएको बुधबारै बस्नेगरी परिषद्को बैठक बोलाएका थिए । तर, बुधबार बस्दै नबसी स्थगित भएको बैठक आज बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा नयाँ प्रधानन्यायाधीश सिफारिसको विषयमा छलफल हुने बताइएको छ । आजको बैठक सहज ढंगले सञ्चालन गर्ने उद्देश्यसहित प्रधानमन्त्रीले हिजै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।
न्याय परिषद्ले यही भदौ २० गते नै ८ न्यायाधीशको नाम परिषद्मा पठाएको थियो । न्यायपरिषद्ले सिफारिस गरेका ८ जना मध्येबाट एकजनालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गर्नुपर्ने हुन्छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आगामी असोज २० गतेबाट उमेर हदको कारण अवकाश पाउँदैछन् । संविधानमा बहालवाला प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नै भावी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था छ ।
त्यसैगरी आजको बैठकमा विभिन्न संवैधानिक निकायहरुमा रिक्त पदपूर्ती गर्ने विषयमा पनि छलफल हुने बताइएको छ । हिजोको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले संवैधानिक निकाय लामो समय रिक्त राख्न नहुने बताएका थिए ।