
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका जानुअघि संसदमा सम्बोधन गर्ने भएका छन् । संयुक्त राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका जानुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न लागेको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
सम्बोधनमा ओलीले राष्ट्रसंघमा उठाउने विषय र समसामयीक राजनीतिका बारेमा उल्लेख गर्ने प्रमुख सचेतक बर्तौलाले जानकारी दिए । उनका अनुसार भदौ ३१ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री असोज ४ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको भ्रमण कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको छ । प्रधानमन्त्रीको टोलीमा परराष्ट्रमन्त्री आरजु देउवा राणा, पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायत सहभागी हुनेछन् ।