२०८१ पौष २५, बिहिवार , ११:५४:४८ बजे

Sajhamanch
'

दोमुखा जाने बाटोमा पेवर्स जडान र माइधारमा स्वागतद्वार बनाउँदै शिवसताक्षी नगरपालिका

बुधवार, भदौ २६, २०८१

शिवसताक्षी । झापाको पर्यटकीय स्थल दोमुखमा शिवसताक्षी नगरपालिकाले इन्टरलक ब्लक लगाउन सुरु गरेको छ ।

शिवसताक्षी नगरपालिका वडा नं. १० मा पर्ने पर्यटकीय क्षेत्र दोमुखा पिकनिक स्पोट तथा स्वीमिङ पूल जाने सडकमा पेवर्स पार्केटिङ्ग लगाउन सुरु गरिएको हो ।

नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटकका लागि सडक बिस्तारलाई तीब्रता दिएकै क्रममा सो सडक बनाइएको हो । सोसहित दोमुखा जाने बाटोमा मुख माइधारमा नयाँ गेटसमेत निर्माणको चरणमा रहेकोे छ ।

नगरप्रमुख मेगाहाङ थोप्राले दोमुखाको मुख्य क्षेत्रमा ढुंगा ईंटा प्रयोग गरेर भौतिक संरचना बनाउन नहुने बताए । दोमुखालाई प्राकृतिक रुपमा सुन्दर बनाउन लागिपरेको अवगत गराउँदै नगरप्रमुख थोप्राले भने, ‘सडक बत्ती, दोमुखा क्षेत्रभित्र झिलमिली बत्ती जडान गरी बेलुका पनि पर्यटकहरु आउनलाई आकर्षित बनाई सन्ध्याकालिन कार्यक्रमहरुको समेत आयोजना गरिने योजना रहेको छ ।’

हाल पार्केटिङ्ग लगाइएको क्षेत्रमा पिकनिङ स्पोट, स्वीमिङ्ग पूल, चिल्ड्रेन पार्क र पर्यटकहरुलाई बस्नको लागि सुविधा सम्पन्न होटलहरु रहेका छन् ।

दोमुखामा रहेको ट्रस्ट ब्रिजदेखि दक्षिण स्वीमिङ्ग पूलसम्म जाने ७३० मिटर सडकमा पेवर्स लगाउन सुरु गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । पेवर्स पार्केटिङ्ग र माइधारमा निर्माणाधिन गेट एउटै ठेक्कामा लगाइएको इन्जिनियर उत्तम बरालले जानकारी दिए ।

उनका अनुसार भ्याट र कन्सलटेन्सीसहित ८४ लाख ६१ हजार ५५० रुपैयाँमा भिमेश्वर कन्स्ट्रसन प्रालिले काम गरिरहेको हो । निर्माणाधिन सडक ६ मिटर चौडाईको रहेको छ भने ६० एमएमको पेवर्स ब्लक लगाइएको छ ।

माइधारमा निर्माण हुँदै गरेको दुईमुखे गेटमा ग्रिनट र चाइनिज ईंटा लगाएर बनाइँदै छ । जसमा तीन वटा पिलर राखेर निर्माण गरिँदै गरेको इन्जिनियर बरालको भनाई छ ।

निर्माणाधिन स्वागत गेट र पेवर्भ जडान गरिँदै गरेको सडकको शिवसताक्षी नगरपालिकाका उपप्रमुख नरमाया कार्की समेतले अनुगमन गरेकी छन् ।

अनुगमनका क्रममा उपप्रमुख कार्कीले भनिन्, ‘सताक्षीधाम पछि दोमुखामा नगरपालिकाले ठूलो लगानी गर्दैछ । दोमुखा नगरको गौरव पनि हो । यहाँ निर्माण गरिएका संरचनाहरु मापदण्ड अनुसार चुस्त र पारदर्शी ढंगबाट निर्माण गर्नु नगरको कर्तव्य रहेकाले निर्माण सम्पन्न नहुन्जेल निरन्तर अनुगमन र निर्माण कम्पनीलाई खबरदारी गरिरहेका छौं ।’

सडक र गेट निर्माण असोज मसान्त सम्ममा निर्माण सम्पन्न हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

सम्बन्धित खबर