काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) ले पाँचथरमा बम विस्फोट भएको घटनाबारे सरकारसँग जवाफ माग गरेको छ।
सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा एमाले प्रमुख सचेतक महेश बर्तौलाले दुई बालबालिकाको ज्यान जाने गरी भएको विस्फोटको घटनाबारे सरकारले संसदलाई जानकारी गराउन माग गरेका हुन्।
‘योबारेमा सरकारले यो सदनलाई आएर बताउनुपर्छ, थाहा दिनुपर्छ,’ उनले भने। प्रमुख सचेतक बर्तौलाले उक्त बम सशस्त्र द्वन्द्वताका बिच्छ्याइएको भनिएको पनि बताए।
त्यतिबेला राज्यपक्षले बमहरू छाड्ने नदेखिएको बताउँदै बर्तौलाले द्वन्द्वको एउटा पक्षबाट बेवारिसे बमहरू विभिन्न ठाउँमा छोडिएको हुनसक्ने बताए। ‘यदी त्यसो हो भने यो घटनाप्रति जबाफदेही हुने हो ? कसले जिम्मा लिनुपर्ने हो?,’ उनले प्रश्न गरे।
बिहीबार भदौ १३ गते पाँचथरको फालेलुङ गाउँपालिका-५ स्थित ज्ञानबहादुर राईको परिवार बस्दै आएका आइतराज केरूङको घरमा विस्फोट हुँदा आँगनमा खेलिरहेका ४ बालबालिका घाइते भएका थिए।
घाइतेमध्ये ज्ञानबहादुरकै छिमेकी दिलिप राईका ११ वर्षीय छोरा र २ वर्षीया छोरीको उपचारका क्रममा मृत्यु भएको थियो। नेपाली सेनाले शुक्रबार डिस्पोज गरेपछि उक्त विस्फोटक पदार्थ हातले बनाइएको सकेट बम रहेको पुष्टी भएको थियो।