२०८१ कार्तिक २३, शुक्रवार , ०९:२७:०० बजे

Sajhamanch
'

दाताको रकम बालुवामा पानी : बनाएको कोल्ड स्टोरेज भयो काञ्जीहाउस

सोमवार, भदौ २४, २०८१
  • द्रोण अधिकारी

भद्रपुर । भद्रपुरको कृषि उपज भण्डारण गरी कृषकलाई सबल बनाउने र कृषकको उन्नतिमा एउटा ईंटा बन्नसक्ने कोल्ड स्टोरेज (भद्रपुर शीत भण्डार) निर्माण थालिएको १४ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । कुशल नेतृत्वको अभाव झेलिरहेको भद्रपुर नगरमा भौतिक उन्नतिका लागि अब्बल संरचनाको काम गर्न सक्ने शीतभण्डार निर्माण पूरा हुन नसकेको हो ।

नेपालस्थित भारतीय दूतावासमार्फत झापाको पहिलो नगर भद्रपुरमा कोल्ड स्टोरेज बनाउनका लागि २०६७ सालमा बजेट निकासा गरी १५ महिनामा सम्पन्न गर्ने गरी काम सुरू भएको थियो । भारतीय दूतावासले अनुदान स्वरूप बजेट निकासा गरेपछि नगरपालिकाले टेण्डर आव्हान गर्दै ठेक्का प्रक्रियामार्फत कोल्ड स्टोरेज निर्माण कार्य सुरु गरेको पनि डेढ दशक लागिसकेको छ ।

स्थानीय सरकारको मातहतमा सञ्चालन अधिकार आउन सक्ने शीतभण्डारको अपनत्वसमेत लिन नसकेको नगर सरकार पछिल्लो ४ वर्षयता भद्रपुर नयाँ बजार क्षेत्रका गाइ गोरू थुन्ने ठाउँका रूपमा परिणत भएको बेवारिसे अवस्थामा हेरेर बसेकोे छ ।

निर्माण प्रकृया शुरू हुँदा कर्मचारीको हातमा रहेको स्थानीय सरकार अहिले जनप्रतिनिधिको हातमा आएको पनि ७ वर्ष भइसकेको छ । निर्वाचित भएर आएका बखत निर्माणको काम थालनी हुने भन्दै फेसबुक मार्फत हुँकार पिट्ने नगर नेतृत्व अलपत्र शीतभण्डारको संरचना निर्माणमा पटक्कै चासो देखाएको पाइन्न । बितेका ७ वर्षको बजेट पुस्तिकामा यसले कतै स्थान नै नपाएको जानकारहरु बताउँछन् ।

जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको पहिलो कार्यकाल सकिएर दोश्रो कार्यकालको पनि दुई वर्ष पूरा भइसकेको छ । निर्माण सम्पन्न भएर उपकरण जडानको काम मात्र बाँकी रहेको भनिएको शीतभण्डार सञ्चालनका लागि कुनै चासो देखाइएको छैन ।

कूल ४ करोड ७८ लाख ७३ हजार २५८ रुपैयाँ ९० पैसाको लागतमा निर्माण थालिएको शीतभण्डारको निर्माण ठेक्का सुनौला खिम्ती कन्स्ट्रक्सन कम्पनीले ४ करोड १३ लाख ३७ हजार ३७४ रुपैयाँ ९६ पैसा (भ्याटसहित)मा १५ महिनामा काम सम्पन्न गरिसक्ने गरी नगरपालिकासँग सम्झौता गरेको थियो ।

सम्झौता अनुसार २०६७ पुस १५ गते काम सुरु गरेको १५ महिनामा अर्थात् २०६८ चैत्र १६ गतेसम्ममा काम समाप्त हुनुपर्ने थियो । १४ वर्षे अवधि पूरा हुँदै गर्दा अहिलेसम्म निर्माणको काम सकिएको देखिदैन । यस विषयमा नगर प्रशासनले कुनै चासो राखेको अवस्था पनि छैन । दाताबाट आएको करोडौं अनुदान बेवारिसे त भएको छ नै अझ निर्माण भएको संरचनाको उचित उपयोग नगरेर बालुवामा पानी खन्याए सरह बनेको नगरबासीको दुखेसो छ ।

भद्रपुर कृषक समूहका नाममा खरिद गरिएको साविक भद्रपुर–१ (हाल भद्रपुर–५) स्थित नयाँ बजारमा मेची नदीको डिलमा पर्ने उक्त जग्गामा भद्रपुर शीत भण्डार निर्माण सुरु भएको १४ वर्ष पूरा भइसकेको छ । ठेकेदारले बल्लतल्ल यस अवधिमा भवन निर्माण कार्य पूरा गरी रंगरोगन गरिसकेको देखिन्छ । कोल्ड स्टोरेजभित्र चाहिने आवश्यक थर्मोकुलर जडान भए पनि त्यसको प्राविधिक परीक्षण गरिएको छैन । ग्यास हाल्नुपर्ने, ट्रान्समिटर, जेनेटर, बिजुलीको सामान जडान र अन्य केही मेसिनरी जडान लगायतका मुख्य काम अझै हुन बाँकी छन् ।

चार वर्ष अगाडि गृह मन्त्रलायले काम नगर्ने ठेकेदारलाई कारवाही सुरू गरेपछि ठेकेदार सोनी भण्डै तीन वर्ष अगाडि नगरपालिकाको सम्पर्कमा आएको भए पनि काम भने केही पनि अगाडि बढेको छैन । गृहले कारवाही गर्न छाडेपछि फेरि ठेकेदार सोनी सम्पर्र्किवहीन बनेको नगरपालिका प्रशासनको दाबी छ । कोल्ड स्टोरेजका महत्वपूर्ण काम अझै बाँकी रहे पनि ठेकेदार कम्पनीले साढे तीन करोड बढी रकम लगिसकेको देखिन्छ ।

भद्रपुरको कृषि उपज संरक्षण तथा विकासलाई टेवा पुर्याउन नेपाल–भारतमैत्री संघको पहलमा भद्रपुरमा कोल्ड स्टोरेज निर्माणका लागि भारतीय दूतावाससँग आग्रह गरिएको थियो । दूतावासले पनि कोल्ड स्टोरेज निर्माण गर्न सहयोग गर्ने भएपछि भद्रपुरका उद्योगीहरूले कोल्ड स्टोरेज आफूहरूको हातबाट नफुत्किओस् भनेर हतार-हतार नेपाल–भारतमैत्री संघमा आबद्ध भएकामध्ये पनि सीमित व्यक्तिहरूलाई समाविष्ट गरी कृषक समूह नामको प्राइभेट कम्पनी दर्ता गराएका थिए ।

उद्योगीलाई मात्र शेयर सदस्य बनाइएको सो कृषक समूहलाई भारतीय दूतावासले सहयोग नगर्ने र वास्तविक कृषि पेशामा लागेका कृषकको समूहलाई मात्र मान्यता दिने भएपछि तिनै उद्योगीले पुनः भद्रपुर कृषक समूह नामक गैरसरकारी संस्था दर्ता गराए । उद्योगीहरूले गैरसरकारी संस्था दर्ता गराए पनि दूतावासले स्थानीय निकाय मार्फत मात्र सहयोग गर्ने भएपछि कृषि समूहले साविक भद्रपुर- १ मा रहेको गोविन्द सरियाको झण्डै एक विगाह जग्गा खरिद गरी सोही जग्गामा कोल्ड स्टोरेज बनाउन थालिएको थियो ।

स्थानीय सरकार शक्तिशाली तथा अधिकार सम्पन्न भए पनि विगतदेखि अलपत्र परेका संरचना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन भने निरीह देखिएको छ । पछिल्लो पटक निर्वाचित जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको दुई वर्षको अवधिमा पनि अलपत्र शीतभण्डार निर्माणमा ध्यान पुर्याउन सकेका छैनन् ।

केही वर्षयता भद्रपुर बजार दक्षिणका घरमा पालिएका मानिसका चौपाया राख्ने काञ्जीहाउस बनेको देखिन्छ । सागसब्जी, फलफूल तथा तरकारी जन्य उत्पादनलाई बिग्रनबाट जोगाएर बेसिजनमा पनि बिक्री वितरण गर्न महत्वपूर्ण सहयोग पुग्ने शीतभण्डार निर्माण सम्पन्न हुने नहुने अनिश्चित देखिएको छ ।

सम्बन्धित खबर