शिवसताक्षी । झापाको दमकमा केन्द्रीय कार्यालय रहेको स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले १५औं वार्षिक साधारण सभा अन्तरगत आज झिलझिलेमा इकाइगत सभा सम्पन्न गरेको छ ।
शिवसताक्षी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष सन्त फेउदिनले पानसमा बत्ती बालेर उद्घाटन गरेको इकाइगत साधारण सभामा संस्थाका अध्यक्ष बुद्धिसागर बरालले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले सहकारी क्षेत्रमा देखिएका र सामाना गरिरहेको अनेक चुनौतीहरुका बाबजुत संस्थाले आव २०८०÷०८१ मा ७३ करोड १० लाख रुपैयाँ भन्दा बढी निक्षेप संकलन गर्न सफल भएको जानकारी दिए ।
संस्थाले सो अवधिमा सदस्यहरु माझ करिब ९९ करोड ५० लाख रुपैयाँभन्दा बढी ऋण लगानी गरेको पनि प्रतिवेदनमा उल्लेख छ । त्यस्तै संस्थाले १३ करोड ९५ लाखभन्दा बढीको जगेडाकोष निर्माण गरेको जनाइएको छ । त्यस्तै वित्तीय संकट चलिरहेको अवस्थमा पनि संस्थाले ४३ प्रतिशतको हारिहारीमा बाह्य ऋण घटाएर २१ करोडबाट ११ करोडमा झार्न सफल भएको अध्यक्ष बरालले बताए ।
संस्थाले शेयर पुँजी ११ करोड ११ लाखको हाराहारीमा संकलन गर्दै १ अर्व १६ करोडको भन्दा बढीको वासलात बनाउन सफल भएको संस्थाको प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थाले दमकमा रहेको मुख्य कार्यालय पछि सुरुङ्गा, झिलझिले, उर्लाबारी, गौरादह र कमल गाउँपालिकामा ५ वटा सेवा केन्द्रहरु सञ्चालन गरेको छ ।
संस्थाले आ.व. २०८०/८१ मा कारोबार गर्ने सदस्यहरुलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार गर्ने घोषणा गरेको छ । उनीहरुलाई मान्युट प्रमाणिकरण कार्यक्रममा सम्मान तथा पुरस्कृत गरिने संस्थाले जनाएको छ ।
झिलझिलेमा सम्पन्न इकाइगत साधारण सभामा संस्थाले स्थानीय एक सामुदायिक हललाई ४ वटा सिलिङ्ग पंखा प्रदान गर्ने घोषणा गरेको छ ।
इकाइगत साधारणसभामा प्रमुख अतिथि फेउदिनले सहकारीमा बचत गर्ने बानी बसाल्दा ग्रामीण क्षेत्रका बासिन्दाहरुलाई उद्यमी बन्न प्रेरित गरेको बताए । थोरै थोरै गरेको बचतले ठूलो काम गर्न सकिन्छ । सहकारीबाट ऋण स्वरुप रकम निकाले साना तथा घरेलु उद्योग चलाउन सकिन्छ ।
उनले भने, त्यसमा इमान्दारिता र इच्छा शक्तिको आवश्यता पर्दछ । सहकारी नेपालमा भित्रिएसँगै धेरै रोजगारीको अवसर दिएको उनको भनाई थियो ।
कतिपय सहकारीहरु सहकारी ऐन नीति विपरित चल्दा डुबेका पनि छन् । त्यसलाइ नियमन गर्ने निकायले बेला बेलामा अनुगमन गर्दै जानु आवश्यक रहेको अध्यक्ष फेउदिनले आवश्यक्ता औंल्याए ।
त्यस्तै शुभकामना मन्तव्य राख्ने क्रममा आदर्श बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चन्द्रबहादुर थापाले साधारण सभामा शेयर सदस्यहरुले हाजिरी मात्र गरेर हिड्ने प्रचलन बढेको बताए । उनले यस्तो प्रचलनले संस्था कसरी चल्दैछ, आफूले बचत गरेको रकमको अवस्था के छ, भन्ने कुरा सबै जानकारी नहुने भन्दै सबैलाई बन्दसत्रमा बसेर आफ्ना कुरा राख्न आग्रह गरे ।
कार्यक्रममा चौतारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष आइतराज लिम्बू, छिमेकी बचत तथा ऋण सहकारी संस्थाका विभागीय प्रमुख माधव पोखरेल, शुलभ बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक गणेश प्रधान, शिवसताक्षी उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्ण खरेलले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक कमलकुमार घिमिरेले गरेका थिए ।