२०८१ असोज १, मङ्गलवार , ०२:०१:३८ बजे

Sajhamanch
'

इलामको रोङमा बन्यो गिद्धको शालिक

आइतवार, भदौ २३, २०८१

इलाम । पुरानो बासस्थान रहेको इलामको रोङ गाउँपालिकामा गिद्धको शालिक निर्माण गरिएको छ ।

सोह्रौँ अन्तर्राष्ट्रिय गिद्ध संरक्षण तथा सचेतना दिवसको अवसर पारेर करसोङ पदमार्गमा गाउँपालिका अध्यक्ष मणिकुमार स्याङबो र उपाध्यक्ष विष्णुमाया खवासले गिद्धको शालिक अनावरण गरेका छन् ।

शालिक निर्माणको लागि युएनडिपीले समेत लगानी गरेको थियो । फाइबरको शालिक निर्माण गर्न १ लाख ६० हजार रुपैयाँ खर्च भएको निर्माण समितिका अध्यक्ष प्रकाश राईले जानकारी दिए ।

उनका अनुसार शालिक राख्नका लागि मुडा बनाउन करिब १ लाख रुपैयाँ खर्च भएको थियो । शालिक मेची राजमार्गबाट करिब १ किलोमिटर ४ सय मिटर दूरीमा निर्माण गरिएको छ ।

विशेष गरी गिद्धको पुरानो बासस्थान भएको क्षेत्र भएकाले पहिचानको रुपमा स्थापित गराउन शालिक निर्माण गरिएको निर्माण समितिका अध्यक्ष राईले जानकारी दिए ।

करसोङ पदमार्गमा पर्ने सलकपुर, जिर्मलेलगायतका क्षेत्रमा गिद्धको बासस्थान समेत रहेको छ । दुई दशक अघिसम्म खोला र वन क्षेत्रमा गिद्धका बथान प्रशस्त पाइने गरेको थियो । अहिले चुरे क्षेत्रमा केही गिद्ध मात्र भेटिएका छन् ।

बासस्थानका रुपमा तराईमा रहेका अग्ला सिमलका रुख मासिँदा र आहाराको रुपमा रहेका मरेका पशुमा किटनाशक विषादी मिसिएका कारण गिद्धको अस्तित्व सङ्कटमा परेको छ ।गिद्ध संरक्षणको सन्देश दिनका लागि शालिक निर्माण गरिएको गाउँपालिका अध्यक्ष स्याङबोले जानकारी दिए ।

सम्बन्धित खबर