२०८१ भदौ ३१, सोमवार , ०३:०१:०८ बजे

Sajhamanch
'

सतासी महिला मौरीपालन सहकारीले चालू वर्ष ५० हजार केजी मह बिक्री गर्ने

बुधवार, भदौ १९, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षी ११ मा रहेको सतासी महिला मौरीपालन सहकारी संस्थाको १८औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न गरेको छ ।

साधारण सभालाई महत्व दिनुपर्छ भनी सदस्यहरुमा उत्प्रेरणा जगाउन तथा महको उपभोगमा जागरण गराउन विभिन्न प्लेकार्डहरु बोकेर नौमती बाजासहित दूधे बजारमा र्याली गरिएको थियो ।

शिवसताक्षी नगरपालिकाका उपप्रमुख नरमाया कार्कीले उद्घाटन गरेको साधारण सभामा संस्थाका अध्यक्ष धनमाया थापाले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

उनले संस्थाको वर्तमान अवस्था र भावी योजनाको बारेमा सभा समक्ष जानकारी दिइन् । ‘संस्था केही समय कोरोना र पछिल्लो समय देशैभर आएको वित्तीय संकटले गर्दा सुस्त भएको थियो’ अध्यक्ष थापाले भनिन् ‘अब संस्था पुरानै लयमा फर्किएको छ । मह उत्पादनमा बृद्धि भएको र बजारीकरण पनि पुरानै अवस्थामा पुर्याइएको छ । अब सबै सदस्यहरुले दिल खोलेर मह उत्पादन र बजारीकरणमा लाग्न हुन संस्थाको अध्यक्षको नाताले सबैमा अनुरोध गर्दछु ।’

वि.सं. २०६३ सालमा दर्ता भई सञ्चालनमा आएको सो सहकारी संस्थाले २०७४ सालसम्ममा मह उत्पादन र बजारीकरणमा आफ्ने छुट्टै ब्राण्ड बनाइसकेको थियो । सतासी महले देश विदेशसम्म आफ्नो छाप छोडिसकेको अवस्थमा २०७४ सालदेखि संस्थाको मह उत्पादन र बजारीकरणको विस्तार गर्न सहारा नेपाल सकोससँग ५० लाख रुपैयाँ बराबरको साझेदारीमा मह र मौरीजन्य उपकरण खरिद र सञ्चालन गर्न सम्झौता भएको संस्थाको प्रतिवेदनमा उल्लेख छ । साहराले २०८० सालसम्म आइपुग्दा सम्झौता गरे अनुसारको सुविधा उपलब्ध नगराए पछि संस्थाले आफैं उद्योग सञ्चालनमा ल्याउन सुरु गरिएको प्रतिवेदनमा जनाइएको हो ।

कार्यक्रममा संस्थाका व्यवस्थापक देवीकुमारी ओलीले १७औं वार्षिक साधारण सभाबाट गरिएको निर्णय, प्रस्ताव र माइन्युट मौरी उद्योगको साझेदार संस्था साहरा नेपालमा पठाइसकेको तर आजसम्म पनि कार्यान्वयन नहुँदा दुःख लागेको बताइन् । उनले हाल मह उद्योग सतासी मौरी पालनले नै सञ्चालन गर्दै आएको र पछिल्लो समयमा ३० हजार केजी मह उत्पादन गरी बिक्री गरिएको समेत जानकारी दिइन् । चालू वर्ष संस्थाले ६० हजार केजी मह उत्पादन गरी ५० हजार केजी बिक्री गर्ने लक्ष्य राखिएको उनले बताइन् ।

कार्यक्रममा सतासी महिला मौरीपालन र मह बिक्री वितरणमा प्रचारप्रसार गरेर संस्थाको हितमा काम गरेको भन्दै संस्थाका सदस्य हिराकुमारी भट्टराई नगदसहित सम्मान गरेको छ ।

साधारण सभा बैंक तथा वित्तीय संस्था विज्ञ चूडामणि चापागाईले सहकारीका सदस्यहरुलाई मह उत्पादन र त्यसको बजारीकरण, व्यवस्थापन लगायत विषयमा अभिमुखीकरण गरेका थिए ।

यसैबीच सतासी महिला मौरीपालन संस्थाले तीज मिलन कार्यक्रम पनि गरेको छ । साधारण सभामा उपस्थित संस्थाका सदस्य महिला दिदी बहिनीहरुले दर खाँदै नाचगानसमेत गरेका थिए ।