काठमाडौं । एन्फा महिला लिग फुटबलमा बाग्मती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई हराएको छ ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा बाग्मतीले सुदूरपश्चिमलाई ५–१ गोलले हरायो ।
बाग्मतीका लागि अस्मिता खवाशले ह्याट्रिक गरिन् । यस्तै सहारा लिम्बु र आरती भुजेलले समान एक गोल गरे । सुदूरपश्चिमका लागि तुल्छा बोहराले एक गोल फर्काइन् ।
प्रतियोगितामा भोलि रौतहटको चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेश खेल्दैछन् । एन्फा महिला लिगमा १० वटा टोली सहभागी छन् । प्रतियोगिताको पहिलो चरणमा सबै टोलीले एकअर्कासँग खेल्नेछन् ।
पहिलो चरणमा शीर्ष ५ मा रहने टोलीबीच फेरि डबल राउन्ड रोबिनका आधारमा सुपर लिग खेलाइने छ । सुपर लिगमा उत्कृष्ट चार टोलीबीच क्वालिफायर, इलिमिनेटर र फाइनल हुनेछ ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यसैगरी लिगको सर्वोत्कृष्ट खेलाडीले १ लाख, फेयर प्ले टोलीले एक लाख ५० हजार र विधागत उत्कृष्ट टोलीलाई जनही ५० हजार रुपैयाँ दिने एन्फाले जनाएको छ ।