झापा। कोशी प्रदेश महिला फुटबल टिमकी नियमित कप्तान खुश्मा राई यतिबेला भुटानमा राष्ट्रिय महिला लिग खेल्दैछिन् ।
हिजोबाट नेपालमा पनि सुरु भएको राष्ट्रिय महिला लिगका कोशी प्रदेशले विजयी सुरुवात गर्दैगर्दा भुटानमा खुश्माले उत्कृष्ट प्रदर्शन गरिन् ।
कोशी प्रदेशको चौथो खेलबाट मैदान फर्किने खुश्मा हाल ट्रान्सपोर्ट युनाइटेडमा आवद्ध भएर भुटानमा लिग खेलिरहेकी छन् ।
उनले टोलीलाई जिताउन महत्वपूर्ण भूमिका खेल्नुका साथै खेलको प्लेयर अफ द म्याच पनि चुनिएकी छन् ।
लिगअन्तर्गत ट्रान्सपोर्टले द रोयल एकेडेमीमाथि १८–१ को फराकिलो जित निकाल्दा खुश्माको योगदान पनि अहम रह्यो ।
ट्रान्सपोर्टबाट खेल्ने कोशी प्रदेशका खुश्मा एक्लो नेपाली खेलाडी भने होइनन् । उनीबाहेक जेनिफर राना र सुशीलाकुमारी चौधरीले पनि ट्रान्सपोर्ट युनाइटेडकै लागि खेलिरहेका छन् ।