२०८१ भदौ ३१, सोमवार , ०९:३५:५९ बजे

Sajhamanch
'

अमेरिकन चलखेलविरुद्व झापामा विप्लव नेकपाको विरोध प्रदर्शन

आइतवार, भदौ १६, २०८१

दमक । हस्तक्षेपकारी अमेरिकन चलखेल विरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले विरोध प्रदर्शन गरेको छ।

शनिबार दमकमा सो पार्टीका नेता कार्यकर्ता तथा स्थानीय जनताको उपस्थितिमा र्यालीसहितको विरोध प्रदर्शन गरिएको हो ।

पछिल्लो समय अमेरिकाले विश्वका विभिन्न देशहरुमा युद्ध चर्काएर अस्थिरता, अशान्ति मच्चाउँदै हतियारको ब्यापार चलाएको र नेपाल माथि पनि अमेरिकाले विभिन्न परियोजना मार्फत हस्तक्षेप बढाएको नेकपाको बुझाई छ ।

एमसिसी नेपालको सदनबाट पारित गरिएसँगै अहिले अमेरिकाले नेपालमा हतियार भित्र्याउन थालिसकेको र सैन्य गतिविधि बढाउन एसपिपी (स्टेट पार्टनरसिप प्रोग्राम) लागू गर्न लागेको भन्दै नेकपाले विरोध प्रदर्शन गरेको जनाइएको छ ।

गोर्खा डिपार्टमेन्टको नजिकैबाट शुरु भएको विरोध र्‍यालीमा अमेरिकी हस्तक्षेप विरुद्ध विभिन्न नाराबाजी गरिएको थियो भने र्‍याली दमक चोकमा पुगेर कोणसभामा परिणत भएको थियोे ।

र्याली पछि आयोजित कोणसभामा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमनसिंह सीले अहिलेको सरकार एमसिसी कार्यान्वयन र एसपिपी पास गर्न षड्यन्त्र गरिरहेको भन्दै कुनै पनि हालतमा उक्त कार्य हुन नदिने बताए । कोणसभा उनले नेपाल माथिको अमेरिकी हस्तक्षेप स्विकार्य नहुने भन्दै जबर्जस्ती गरे नेकपाले बन्दुक उठाउने चेतावनी दिए ।

पछिल्लो समय अमेरिकाले नेपालको सदनबाट एमसिसी पास गराएको र अहिले एसपिपी परियोजना पास गराएर नेपालमा प्रत्यक्ष रुपमा हस्तक्षेप जमाउन षड्यन्त्र बुनिरहेको उनले आरोप लगाए ।

केही समय अगाडि अमेरिकी सेनाको जेट बिमानले काठमाडौमा थुप्रै सामान झारिसकेको र त्यो सामान विमानस्थलमा सामान्य चेकजाँच समेत नगरिकन दुतावासमा पुर्‍याउने काम भएकोले त्यो हतियार समेत हुनसक्ने उनले आशंका व्यक्त गरेका थिए ।

सम्बन्धित खबर