भद्रपुर । झापामा रहेका धामीझाँक्री तथा वैद्यहरूले भद्रपुरमा विविध कला प्रदर्शन गर्दै सातौं मनषादेवी विषहरी विष खेल सम्पन्न गरेका छन् ।
नेपाल राष्ट्रिय धामी वैद्य संघ झापाको आयोजनामा भद्रपुर ७ मा झापा, मोरङ लगायत भारतको पश्चिम बंगाल तथा विहारबाट भेला भएका धामीझाँक्री र वैद्यहरूले आ–आफ्नो कला प्रदर्शन गरेका हुन् ।
संघका झापा अध्यक्ष सतलाल राजवंशीको अध्यक्षता तथा भद्रपुर नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा कालीनागको माला लगाएर विषहरी खेलको सुरू गरिएको थियो ।
अध्यक्ष राजवंशीले पहिरिएर विषहरी थानको केराको खम्बामा जिउँदो काली नागको माला लगाएर नागको गर्जन प्रदर्शन गरिएको थियो भने धामी झाँक्रीहरूले आ–आफ्ना ढोलढ्याङ्ग्रा बजाएका थिए ।
बहुजातीय धामी झाँक्री सहभागी कार्यक्रममा आगो नबाली चिया पकाउने, विष खेल प्रदर्शन र सिसामा हिड्ने कला प्रदर्शन गरिएको थियो ।
नन्दकुमार राजवंशीले सञ्चालन गरेको कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै संघका झापा सचिव देवचरण राजवंशीले पिता पुर्खाको पालादेखि प्रकृतिसित जुधेर बाँच्ने कला तथा औषधी उपचार सेवा प्रदान गर्ने एकमात्र उपाय धामी, झाँक्री र वैद्य भएको बताए ।
सचिव राजवंशीले लोप हुन लागेको मौलिक जिउने कला तथा जीवन उपयोगी विद्या संरक्षणमा सबै पक्ष एक हुन आग्रहसमेत गरे ।