२०८१ माघ १३, आइतवार , ०५:१६:०६ बजे

Sajhamanch
'

एपीएफ क्लब एएफसी वुमेन्स च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाट बाहिरियो

बिहिवार, भदौ १३, २०८१

झापा । एपीएफ फुटबल क्लबको महिला टोली एएफसी वुमेन्स च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाट बाहिरिएको छ ।

घरेलु टोली मलेसियाको सबाह एफसीसँग हिजो गोलरहित बराबरी खेलेसँगै एपिएफ प्रतियोगिताबाट बाहिरिएको हो । समूह चरणको दुई खेलमा गोलको खाता पनि नखोली एपिएफ प्रतियोगिताबाट बाहिरिएको हो ।

पहिलो खेलमा उज्वेकस्तानको नसाफ क्लबसँग १–० ले पराजित एपिएफ अङ्क तालिकाको पुछारमा रह्यो । समूह ‘सी’मा नसाफको ३ तथा सबाह र एपीएफको समान १ अङ्क छ । समूहको विजेता मात्र अघिल्लो चरणमा प्रवेश गर्ने नियम छ ।

एपीएफ नेपालबाट अन्तर्राष्ट्रिय महिला क्लब फुटबल खेल्ने पहिलो टोली हो । एशियन फुटबल कन्फेडेरेसन (एएफसी) ले एशियामा महिला फुटबलको विकासका लागि पहिलो पटक वुमेन्स च्याम्पियन्स लिग गराउँदैछ ।

लिगमा २२ सदस्य राष्ट्रका क्लबहरुको सहभागिता रहनेछ । जसमा सन् २०२४ को फिफा वरियतामा टप आठमा परेका राष्ट्रका क्लबहरु समूह चरणका लागि सीधै छनोट भइसकेका छन् ।

लिगमा जापान, चीन, इन्डोनेसिया, फिलिपिन्स, अस्ट्रेलिया लगायत देशका क्लबको सहभागिता रहनेछ । बाँकी १४ राष्ट्रले समूह चरणका लागि प्रारम्भिक चरण पार गर्नुपर्ने हुन्छ ।

प्रारम्भिक चरणमा रहेका १४ देशका क्लबहरुलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता च्याम्पियन्सिपको समूह चरणका लागि छनोट हुनेछन् ।

सम्बन्धित खबर