२०८१ पौष १३, शनिवार , ०५:४५:३९ बजे

Sajhamanch
'

सहकारीले समुदायलाई नै एकसूत्रमा बाँध्न सफल भएको छ : मन्त्री मगर

बुधवार, भदौ १२, २०८१

झापा । सहकारीलाई पुँजीवादी ढाँचामा चलाउन खोजियो भने समस्यामा पर्ने भएकाले यसलाई सदस्यले नियन्त्रण गरेको संस्थाका रुपमा रहन दिनुपर्ने कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बताएका छन् ।

झापाका दमकमा मुख्य कार्यालय रहेर मोरङ र इलाम जिल्लामा कार्यक्षेत्र विस्तारित मेची बहुउद्देश्यीय सहकारी संस्थाको २८औं वार्षिकोत्सव तथा एकीकृत माइन्युट प्रमाणीकरण साधारणसभाको प्रमुख अतिथि रहेका मन्त्री मगरले आज सो कुरा बताएका हुन् ।

आफ्नो मन्तब्यका क्रममा मन्त्री मगरले सहकारीहरुले अब बचत तथा ऋणको मात्र होइन, आफ्ना सदस्यहरुलाई कसरी व्यवसायी बनाउने भन्ने सोच्न जरुरी छ । सदस्यलाई कसरी उद्यमशील बनाउने र आयआर्जन वृद्धि गराउने एवम् सहकारीले लगानी गरेको ऋणलाई उत्पादनमुलक र व्यवसायमुलक काममा लगाएर कसरी समृद्धितिर लैजाने भन्ने कुरा गम्भीर भएर सोच्न आवश्यक भइसकेको उनले सुझाए ।

धर्म, जात वा पहिचानको कुरामा कहिलेकाहिँ झगडा हुन्थ्यो तर सहकारीले सबै जात, धर्म, वर्ण, लिङ्गलाई सदस्य बनाएर सेवा दिने भएकाले व्यवसायिक कारोबारमा मात्र होइन समुदायलाई नै एकसूत्रमा बाँध्न सफल भएको मन्त्री मगरको भनाई छ ।

‘अहिले सहकारी अभियानलाई प्रभाव पार्ने किसिमका अवाञ्छित क्रियाकलापहरु पनि भइरहेको, धम्कीपूर्ण भाषा बोलेर अभियानलाई प्रभावित बनाउन खोजिएका सूचनाहरुलाई हामीले नजिकबाट नियालिरहेको छौं’ आर्थिक मामिला तथा योजना मन्त्री मगरले भने, ‘यस्ता कुतत्वहरुलाई नियन्त्रण गर्न सबैको एकतावद्ध पहल आवश्यक रहेको छ ।’

सो समारोहमा मन्तब्य राख्दै नेपाल बचत तथा ऋण केन्द्रीय संघका पूर्व अध्यक्ष ऋषिराज घिमिरेले अहिले खराब सहकारी भनिएकाहरु सबैमा सुशासनको अभावका कारण बिग्रिएको बताए । उनले संस्था आजसम्म, अहिलेसम्म ठिक छ भन्न सकिने तर भोलि के हुन्छ भन्ने नसकिने बताए । सञ्चालक र कर्मचारीहरुको मन बिग्रिएको अवस्थामा एकैछिनमा संस्था धराशयी बन्नसक्ने सहकारी अभियन्ता घिमिरेले सुनाए ।

आर्थिक कारोबार चलायमान भएमा मात्र मुलुक चल्ने भएकाले सरकारले नीतिगत परिमार्जन गरेर सहकारीमा रुपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए । उनले भने, ‘अब सहकारीको सदस्य जथाभावी दिन हुँदैन, फोर्स मर्जको व्यवस्था कार्यान्वयनमा ल्याउनै पर्छ, बहुउद्देश्यीय र बचत तथा ऋण सहकारीहरुमात्र राख्नुपर्छ ।’

संस्थाको एकीकृत माइन्युट प्रमाणीकरण साधारणसभाको अवसरमा विशेष प्रस्तुति गर्दै नेफ्स्कोनका पूर्व कोषाध्यक्ष केशवप्रसाद पोखरेलले आजको दिनसम्म मेची सहकारी राम्रो छ तर वित्तीय कारोबार तरल हुने भएकाले आन्तरिक त्रुटीहरु पहिचान गर्न सकिएन भने भोलि खराबको सूचिमा पनि पर्न सक्छ भनी सुझाए ।

नेपालको सहकारी अभियानको वर्तमान अवस्था र चुनौतीहरु विषयमा विशेष प्रस्तुति दिँदै उनले जोखिम पहिचान गर्न सकियो भने संस्था जीवन्त रहने अथ्र्याए ।

संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईको अध्यक्षतामा आयोजित वार्षिकोत्सव तथा एकीकृत माइन्युट प्रमाणीकरण साधारणसभा समारोहको सञ्चालन सचिव राजेन्द्र दाहालले गरेका थिए ।

सम्बन्धित खबर