काठमाडौं । अस्ट्रेलियाको ‘बिग बाश लिग’ (बीबीएल) टी–२० क्रिकेटको ड्राफ्टमा नेपालका दुई जना खेलाडी परेका छन् । १४ औं संस्करणको बीबीएलमा नेपालबाट स्पिनर सन्दीप लामिछाने र ललित राजवंशी ड्राफ्टको सूचीमा परेका हुन् ।
आउँदो सेप्टेम्बर १ मा हुने अक्शनका लागि ४३२ जना खेलाडीको ड्राफ्ट सूचीमा सन्दीप र ललित पनि परेका हुन् । प्रतियोगिता डिसेम्बर १५ देखि शुरू हुनेछ ।
सन्दीपले बीबीएलको ३ वटा संस्करणमा खेलिसकेका छन् । उनले दुई वटा संस्करणमा मेलबन स्टार्सबाट र एउटा संस्करणमा होबर्ट हरिकेन्सबाट खेलेका छन् ।
बीबीएलमा खेलाडीलाई चार वटा तहमा छुट्याइन्छ । प्लाटिनममा पर्नेले ४ लाख २० हजार डलरसम्म पारिश्रमिक पाउँछन् । यस्तै गोल्डमा पर्नेले ३ लाख, सिल्भरमा पर्नेले २ लाख र ब्रोन्जमा पर्नेले १ लाख डलरसम्म पारिश्रमिक पाउँछन् ।