२०८२ जेठ ३, शुक्रवार , ०६:२४:१३ बजे

Sajhamanch
'

विराटनगरको रथयात्रा समापन, शंकास्पद गतिविधि गरेको आरोपमा १४३ जना पक्राउ

बुधवार, भदौ १२, २०८१

विराटनगर । मोरङको विराटनगरमा निकालिएको राधाकृष्ण रथयात्रा गएराति समापन भएको छ ।

विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट दिउँसो सुरु भएको राधाकृष्णको युगल जोडीसहितको रथ यात्रा बजार क्षेत्रको करिब ८ किलोमिटर यात्रा तय गरी पुनः मन्दिरमा पुगेर समापन भएको हो ।

प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रामा तीन लाख बढी भक्तजन सहभागी भएको आयोजकले बताएको छ ।

राधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथयात्रा तीनपैनबाट मेनरोड हुँदै जलजला चोक, ट्राफिक चोकदेखि रोडशेष चोक, महेन्द्र चोक, भृकुटी चोक र बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेको थियो ।

रथयात्राका क्रममा चोरी र पकेटमारीमा संलग्न तथा शंकास्पद गतिविधि गरेको आरोपमा १४३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेकामध्ये १० जना महिला छन् ।

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले उच्छृङ्खल र शंकास्पद गतिविधि तथा चोरी र पकेटमारीमा संलग्नहरुलाई अनुसन्धानको दायरामा ल्याइएको जानकारी दिए ।

विराटनगरमा राधाकृष्णको रथयात्रा विक्रम संवत १९८८ देखि ‘खट’ यात्राबाट प्रारम्भ भएको थियो । २०२५ सालबाट खटसँगै रथयात्रा निकाल्न थालिएको हो । खट यात्राको ९३ औं र रथको ५६ औं संस्करण हो ।

विराटनगरको रथयात्रालाई दक्षिण एसियाको दोस्रो ठूलो रथयात्रा भएको दाबी गरिन्छ ।

सम्बन्धित खबर