२०८१ असोज १, मङ्गलवार , ०२:१७:४६ बजे

Sajhamanch
'

इन्भेन्चरका बालबालिकाद्वारा कृष्ण जन्मोत्सव सांस्कृतिक झाँकी प्रस्तुत

आइतवार, भदौ ९, २०८१

बिर्तामोड । बालबालिकालाई गुणस्तरीय एवम् जीवनोपयोगी शिक्षा प्रदान गर्ने लक्ष्य राखेको बिर्तामोड ३ स्थित इन्भेन्चर एजुकेशन एकाडेमीले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आज बालबालिकाहरुलाई सांस्कृतिक झाँकी प्रस्तुत गराएको छ ।

मन्टेश्वरी विधिमा पूर्व प्राथमिक तहमा कक्षा सञ्चालन गरिने सो विद्यालयले हरेक नेपालीमा आफ्ना प्रचलित सांस्कृतिक चाडपर्वहरु, परम्परागत मान्यता एवम् धर्म संस्कारको जगेर्ना गर्नुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै बालबालिकालाई यस्तो झाँकी प्रस्तुत गराएको हो ।

पूर्व प्राथमिक तहमा अध्ययन गर्ने बालबालिकाहरुलाई कृष्ण र राधाको पहिरनमा सजाएर तथा अन्य बालबालिकाहरुलाई आफ्नै जातिगत भेषभुषामा उपस्थित गराएर कृष्ण जन्मोत्सव सांस्कृतिक झाँकी गराइएको विद्यालयका संस्थापक प्रिन्सिपल अमृत बस्नेतले जानकारी दिए ।

श्रीकृष्ण जन्माष्टमीका दिन सार्वजनिक विदा रहेकाले सो को अघिल्लै दिन पर्व सम्बन्धी ज्ञान दिलाउन यस्तो झाँकी प्रस्तुत गराइएको उनले बताए ।

सो अवसरमा ससाना नानीहरुले आफैं बाद्यवादन बजाएर कृष्ण भजन गाएको दृश्यले अभिभावकलाई पनि पुलकित बनाएको थियो । केवल किताब पढेरमात्र हुँदैन, ब्यवहारिक जीवनका हरेक कोणबाट ज्ञान आर्जन गराउनु आजका बालबालिकाको लागि नितान्त आवश्यक भइसकेकाले पर्व विशेष यस्ता कार्यक्रमहरु गर्दै आएको संस्थापक प्रिन्सिपल बस्नेतको भनाई छ ।

संस्कृतिको पुस्तान्तरणमा विद्यालय शिक्षा अवधिले निक्कै ठूलो भूमिका खेल्ने भएकाले इन्भेन्चरले स्थापनाकालदेखि नै यस्ता कार्यहरु गर्दै गराउँदै आएको उनले बताए ।

बिर्तामोड नगरपालिका वडा नं. ३ शान्तिटोलमा सञ्चालित नवोदय शिक्षा सदनको नाम परिवर्तन गरी इन्भेन्चर एजुकेशन एकाडेमी बनाइएको हो । विगत लामो समयदेखि इन्भेन्चर किन्डर हाउस सञ्चालन गरिरहेका शिक्षासेवी बस्नेतले २०७९ मा नवोदय शिक्षा सदनको लोगो खरिद गरी विद्यालय सञ्चालन गर्न थालेका थिए ।

सम्बन्धित खबर