काठमाडौं । भुटानलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल २० वर्षमुनिको साफ च्याम्पियनशिपको फाइनलमा पुगेको छ ।
लतिपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको पहिलो सेमिफाइनलमा नेपालले भुटानलाई पेनाल्टी शुटआउटमा ४–१ ले हरायो ।
निर्धारित ९० मिनेटको समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । यसअघि खेलको ५६ औं मिनेटमा भुटानका जितसुनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर खेलको ७८ औं मिनेटमा नेपालका निराजन धामीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि भारत र बङ्गलादेश खेल्दैछन् । फाइनल खेल आउँदो बुधवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुनेछ ।