काठमाडौं । सरकारले शेयर कारोबारमा हुने गैरकानुनी गतिविधि रोक्न कडा कानुन ल्याउने तयारी गरेको छ । धितोपत्रसम्बन्धी ऐन, २०६३ मा संशोधन गर्न बनेको विधेयकको मस्यौदामा स्वार्थ बाझिने प्रतिनिधि बोर्डमा नराख्नेदेखि सेयर बजारमा भित्री कारोबार गर्नेलाई कडा कारबाही गर्नेलगायतका धेरै प्रावधान छन् ।
कुनै व्यक्तिले शेयरको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीका आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरूलाई धितोपत्र कारोबार गर्न लगाएमा जरिबाना बढाइने विधेयकमा उल्लेख छ । भित्री कारोबारमा दोषी देखिए बिगोअनुसारको जरिबाना वा तीन वर्षसम्म कैद सजाय वा दुवै सजायको व्यवस्था गरिएको छ ।
यस्तै हुँदै नभएको वा कृत्रिम वा झुटो कारोबार गरेर धितोपत्रको मूल्य स्थिर गराएमा, बढाएमा, घटाएमा मूल्यमा तलमाथि गराएको ठहरिने पनि विधेयकमा उल्लेख छ । मूल्य तलमाथि गराएको अवस्थामा पनि बिगो खुलेकोमा बिगो भराई बिगोबमोजिमको जरिबाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय र बिगो नखुलेमा पाँच लाखदेखि ५० लाख रुपियाँसम्म जरिबाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था विधेयकमा छ ।
यस्तै सेयर कारोबारमा संलग्न व्यक्तिले धितोपत्र बोर्ड अध्यक्ष र सञ्चालक बन्न नपाउने व्यवस्था पनि विधेयकमा रहेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाको बैठकमा दफाबार छलफलका लागि पेस गर्नुभएको धितोपत्रसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदका दुवै सदनमा छलफलपछि पास भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र लागू हुने छ ।