काठमाडौं । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ । आठ जना हराइरहेका छन् ।
गएराति १० बजेतिर झरेको ठूलो पहिरोले ६ वटा घर बगाएको गाउँपालिकाका उपाध्यक्ष खमला थापामगरले जानकारी दिए। चण्डिका थापामगर र एउटा बालकको शव भेटिएको छ । अरू आठ जना हराइरहेका उनले बताए ।
पहिरोले ५ वटा घर बगाएर अँधेरी खोलामा पुर्याएकाले घरहरु कहाँ पुगे भन्ने थाहा छैन । घरकै नामनिशान नभएकाले हराइरहेका मानिस खोज्न पनि समस्या भएको उपाध्यक्ष थापामगरको भनाइ छ ।
पहिरोपछिको बाढीले एउटा पक्की पुल पनि बगाएको छ । अहिले घटनास्थलमा नेपाली सेना र नेपाल प्रहरी पुगेर खोजी शुरु गरेका छन् ।