२०८१ माघ २०, आइतवार , १२:३७:५६ बजे

Sajhamanch
'

बिर्तामोड नगर अस्पतालमा ८३ जनाको नर्मल डेलीभरी

मङ्गलवार, भदौ ४, २०८१

बिर्तामोड । बिर्तामोड नगर अस्पतालमा नर्मल डेलीभरी (प्रसूती) गराउनेको संख्या ८३ पुगेको छ । अस्पतालप्रति सेवाग्राहीको विश्वसनीयता बढेसँगै प्रसुती गराउनेको संख्या पनि थप हुँदै गएको हो ।

गत आर्थिक वर्ष २०८०/८१ मा ७० जना र चालु आर्थिक वर्षको साउन यता १३ जना गरी ८३ जनाले नर्मल डेलिभरी सेवा लिएको अस्पतालको सिनियर अनमी निरीक्षक दिपा श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार साउनमा १० जना र भदौमा ३ जनाले सेवा लिएका हुन् ।

नगर अस्पतालमा प्रसुती हुनेहरुको लागि न्यानो झोलासमेत प्रदान गरिँदै आएको छ । झोलामा बच्चाको भोटो, टोपी, दौरा सुरुवाल दुई–दुई थान, युरिन म्याट र आमालाई लुगा (म्याक्सी) एक–एक थान उपलव्ध हुन्छ ।

नगर अस्पतालले प्रसुती सेवा लिनेहरुलाई एक हजार र सरकारी अस्पताल वा स्वास्थ्य केन्द्रमा नियमित गर्भवती जाँच (एएनसी) गराउनेहरुको लागि ८०० रुपैयाँ थप गरी एक हजार ८०० रुपैयाँ प्रदान गर्दै आएको छ ।

नर्मल डेलीभरी सेवालाई २४सै घण्टा उपलव्ध गराएको अस्पतालले यसका लागि ८ जना स्वास्थ्यकर्मीको व्यवस्थापन गरेको जनाइएको छ ।

नगर अस्पतालमा फिजिसियन, बालरोग, मनोरोग ,बाथरोग, स्त्री तथा प्रसूति रोग, हार्डजोर्नी तथा नशा रोगलगायत विभिन्न रोगका विशेषज्ञहरुको सेवा उपलव्ध रहेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सुनिल अधिकारीले जानकारी दिए । अस्पतालमा केहि दिन अघिमात्रै २ जना मेडिकल अधिकृत थप गरिएको छ ।

अस्पताललाई सुविधा सम्पन्न बनाउनको लागि भवन निर्माणसँगै विभिन्न प्रकारका सेवा थप गर्ने र भएकालाई अझै व्यवस्थित गर्ने कार्य भईरहेको बिर्तामोड नगरपालिकाले जनाएको छ ।

सम्बन्धित खबर