काठमाडौं । दक्षिण एसियाली देशहरुबीच हुने २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा आज भारत र भुटान खेल्दैछन् । खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो तीन बजे शुरु हुनेछ ।
यसअघि हिजो भएको खेलमा नेपालले श्रीलङ्कालाई १–० गोलले पराजित गरेको छ । अब नेपालले समूहको दोस्रो खेल बिहीवार बङ्गलादेशसँग खेल्नेछ । त्यसअघि भोलि बङ्गलादेश र श्रीलङ्काबीच हुने खेलमा श्रीलङ्का पराजित भएमा नेपाल एक खेलअघि नै सेमिफाइनल पुग्नेछ ।
च्याम्पियनशिपमा पाकिस्तान बाहेक दक्षिण एसियाका ६ टोली सहभागी छन् । ६ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाईएको छ र दुवै समूहको शीर्ष दुई टोली सेमिफाईनल पुग्नेछन् । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् ।