भद्रपुर । मेची प्रादेशिक अस्पतालले नयाँ भवनबाट ओपिडी सेवाको शुरु गरेको छ ।
वटुकहरुद्वारा स्वास्तीवाचन सँगै अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामवाबु खडकाले आज ओपिडी सेवाको शुरु गरेका हुन् ।
ओपिडीमा विरामीहरुको अत्याधिक चाप हुने हुँदा पहिलो चरणमा ओपिडी सेवाको शुरु गरिएको र क्रमशः सम्पूर्ण सेवाहरु नयाँ भवनबाटै सञ्चालन गरिने डा. खडकाले बताएका छन् ।
अस्पतालको नयाँ भवनबाट सम्पूर्ण सेवा दिन सम्भव छ त ? भन्ने जिज्ञासामा मेडिकल सुपरिटेन्डेन्ट खडका भन्छन्, ‘नयाँ भवनबाट आजदेखि ओपिडी सेवा सुरु गरेका छौ। भवन बनेर मात्र भएन, स्वास्थ्य सामग्री र उपकरणहरू पनि अब आवश्यक पर्छ, केही सामग्री खरिद गरे पनि त्यो अपुग छ, त्यसका लागि आवश्यक बजेट चाहिन्छ। बजेट व्यवस्थापन गरेर भए पनि केही वर्षपछि पूर्णरुपमा संचालन हुनेछ ।’
नवनिर्मित अस्पताल भवनको माथिल्लो तला थप्नका लागि सरकारले दुई करोड रुपैयाँ बजेट छुट्टाइसकेकोले चालू आर्थिक वर्षमा भवनको ठेक्का प्रक्रिया सुरु भई काम अघि बढाइने मेसु डा. खडकाले जानकारी दिए ।