मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले नगरबासीको स्वास्थ्य सुरक्षामा चासो राख्दै स्वास्थ्य सेवा विस्तारलाई तिब्रता दिइरहेको छ ।
नगरको १५ वटै वडामा यसअघि नै प्राथमिक स्वास्थ्य सेवा केन्द्र मार्फत वडाबासीलाई स्वास्थ्य सेवा पुर्याइरहेको नगरपालिकाले आजदेखि धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रलाई थप सेवा सुविधा सहित स्थरबृद्धि गरी नगर आधारभूत अस्पतालको रूपमा सञ्चालनमा ल्याएको हो ।
मेचीनगर १० स्थित धुलाबारी मोडमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई थप विशेषज्ञ डाक्टरसहित नगर आधारभूत अस्पतालको रूपमा सञ्चालन गरिएको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए ।
स्वास्थ्य क्षेत्रमा आम नागरिकको पहुँच सहज रूपमा पुर्याउने उद्दश्यले नगरपालिका लागिरहेको बताउँदै उनले भने ४ जना एमबीबीएस डाक्टरसहित सेवा सञ्चालन गरिएको उक्त अस्पतालबाट अब नगरका सबै नागरिकले सहज रूपमा स्वास्थ्य सेवा लिन सक्नेछन् ।
मानिसको स्वास्थ्य एकदमै संवेदनशील विषय हो । समयमा उपचार नपाउँदा नागरिकको ज्यान तलमाथि हुनसक्ने भएको हुँदा नगरपालिकाले सबैको सहज पहुँचको लागि धुलाबारीमा विशेषज्ञ डाक्टरहरूबाट इमर्जेन्सी सेवासहितको स्वास्थ्य सेवा सञ्चालन गरिएको उपप्रमुख मीना पोख्रेल उप्रेतीको भनाई छ ।
यसअघि एक जना मेडिकल अधिकृतसहित प्रसुती सेवा, भिडियो एक्सरे लगायतका स्वास्थ्य सेवा प्रदान भइरहेको धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रलाई आजबाट थप सुविधासहित नगर आधारभूत अस्पतालको रूपमा सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी बताउँछन् ।
नगर अस्पताल सञ्चालन हुनु नगरबासीको लागि एकदमै खुसीको कुरा हो । यसलाई सफल बनाउन नगरपालिकाका जनप्रतिनिधिसंगै स्वास्थ्यकर्मी, कर्मचारी र आम नागरिक सबै आफ्नो तर्फबाट लाग्नुपर्ने उनले बताए । साथै उनले अहिले सुरूवाती चरण भएकाले नगर अस्पतालमा सुविधा पर्याप्त नहुन सक्छ त्यसलाई क्रमश विस्तार गरिदै लैजाने बताए ।
नगर आधारभूत अस्पताल धुलाबारीमा अब ४ जना एमबीबीएस डाक्टरसहित इमर्जेन्सी सेवा, २४ घण्टा प्रसुती सेवा, भिडियो एक्सरे सेवा, इसीजी सेवासंगै आफ्नै फार्मेसी सेवासमेत उपलब्ध हुन थालेको छ ।
थप सेवा सुविधासहित आजबाट सुरू भएको नगर आधारभूत अस्पतालको उद्घाटन समारोहमा नगर प्रमुख बुढाथोकी, उपप्रमुख उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अधिकारी, कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक हृदय राजवंशी, वरिष्ट प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा, मेचीनगर १० का वडाध्यक्ष नारायण खनाल, कार्यपालिका सदस्य रिता परियारलगायत स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।