२०८१ पौष २४, बुधवार , ०५:५८:४० बजे

Sajhamanch
'

समुदायमा सहकारी (४) : मेची बहुउद्देश्यीय सहकारीको फरक अभ्यास

शुक्रवार, साउन ३२, २०८१

झापा । देशका धेरै सहकारी संस्थाहरुले आफ्ना सदस्यसँगै समुदायको उन्नयनका लागि काम गरिरहेको सहन नसकेर कतिपय कुतत्वहरुले अभियान माथि नै असर पुग्नेगरी विष वमन गर्न छाडेका छैनन् । तर सदस्यद्वारा स्थापित र सदस्यकै लागि सञ्चालित वित्तीय क्षेत्र सहकारी संस्थाहरुले आफ्ना सदस्य एवम् समुदायका लागि चाहिँ निरन्तर योगदान दिइरहेका पाइन्छ ।

पछिल्ला केही वर्षदेखि सहकारी संस्थाहरुबीच वित्तीय कारोबारमा अघोषित प्रतिष्पर्धा नै छ र सदस्यलाई सुविधा प्रदान गर्ने होडबाजी पनि चलिरहेको छ । सदस्य विस्तार गरी बचत वृद्धि गर्ने उद्देश्यले एउटाले भन्दा अर्काे संस्थाले सदस्यलाई बढी सुविधा प्रदान गर्ने योजनाहरु बिस्तार गरिरहेका पाइन्छ । र, सर्वसाधारणले पनि कुनै सहकारीको सदस्य बन्नुभन्दा पहिले संस्थाबाट पाइने सुविधा र आफ्नो रकमको सुरक्षाका विषयमा पूर्व जानकारी लिएरमात्र कारोबार गर्न थालेका छन् । जहाँ आफ्नो निक्षेप र बचतको सुरक्षा हुन्छ, अनि सुविधाहरु पनि पाउने भएमात्र सो संस्थामा कारोबार गर्ने बानी बसिसकेको छ ।

समुदायमा सहकारी शृङ्खलामा विभिन्न सहकारी संस्थाहरुले सदस्य एवम् समुदायका लागि पुर्याइरहेको योगदानका बारेमा चर्चा गरिँदै आएको छ । सोहीक्रमको चौथो श्रृङ्खलामा मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दमकलाई यहाँ प्रस्तुत गरिएको छ ।

वित्तीय अवस्था :

झापाको दमकमा २०५४ साल भदौ १२ गतेदेखि सञ्चालित मेची बहुउद्देश्यीय सहकारी संस्थाको कार्यक्षेत्र झापा पछि मोरङ र इलाममा विस्तार गरिएको छ । बहुउद्देश्यीय प्रकृतिको संस्था भए पनि बचत तथा ऋणको ब्यवसायलाई मुख्य कारोबार बनाउँदै आएको छ । संस्थाले कार्यक्षेत्रमा १२ वटा सेवा केन्द्रमार्फत् सदस्य केन्द्रित कारोबार गरिरहेको पाइन्छ ।

‘एकता, सहभागिता, मितव्ययिता र पारदर्शिता मेची सहकारीको प्रतिवद्धता’ भन्ने थीममा आधारित रहेर सञ्चालित मेची बहुउद्देश्यीय सहकारीको २०८१ असार मसान्तको सेयर पूँजी ३७ करोड १८ लाख ९० हजार ४०० रुपैयाँ रहेको छ । संस्थामा अघिल्लो आर्थिक वर्षको भन्दा ३० लाख ९३ हजार ४०० रुपैयाँले सेयर पूँजी घटेको वित्तीय विवरणमा उल्लेख छ ।

३ अर्ब ८७ करोड ८६ लाख ३८ हजार ३६३ रुपैयाँको वासलात बनाएको संस्थामा कूल बचत तथा निक्षेप रकम ३ अर्ब ६ करोड ७१ लाख ३७ हजार ४३० रुपैयाँ रहेको विवरणमा उल्लेख छ । संस्थामा गत असार मसान्तमा दीर्घकालिन प्रकृतिको बचत ६२ दशमलव ७२ प्रतिशत र अल्पकालिन प्रकृतिको निक्षेप ३७ दशमलव २८ प्रतिशत रहेकाले मेची सहकारीको विश्वसनियतामा अझ वृद्धि गराएको छ ।

असार मसान्त सम्ममा संस्थाले ३ अर्ब २९ करोड ७३ लाख ९८ हजार १९५ रुपैयाँ सदस्यहरु माझ कर्जा लगानी गरिसकेको जनाइएको छ । संंस्थाको जगेडा कोषमा ३४ करोड ४१ लाख १५ हजार ४७२ रुपैयाँ जम्मा भएको छ भने संस्थाले लिएको बाह्य कर्जा गत आर्थिक वर्षको भन्दा ८२ दशमलव २० प्रतिशतले घटाएर ६ करोड ९६ लाख ४९ हजार २१३ मा सिमित गरिएको छ ।

गत असार मसान्तमा संस्थामा ३८ करोड ३९ लाख २२ हजार ४०९ रुपैयाँ तरलता रहेको वित्तीय विवरणमा जनाइएको छ । गत आवमा संस्थाले ९ करोड ७५ लाख ९५ हजार खुद नाफा गरेको छ ।

सदस्य तथा समुदायमा संस्थाको योगदान :

मेची बहुउद्देश्यीय सहकारी संस्थाले कार्यक्षेत्रका १२ वटा सेवा केन्द्रमार्फत् आफ्ना सदस्य, उनीहरुको परिवार र त्यहाँको समुदायका लागि गत आर्थिक वर्षमा १ करोड १३ लाख ७० हजार ४६५ रुपैयाँ खर्च गरेको छ ।

संस्थाका सहप्रबन्धक चन्द्रप्रसाद थापाले उपलब्ध गराएको तथ्याङ्क अनुसार संस्थाका १ हजार ८५७ सदस्य र तिनको परिवारमा पुगेर मेची सहकारीले उनीहरुको मन जितेको छ । संस्थाले विभिन्न किसिमका शल्यक्रिया गराएका आफ्ना ३९९ जना सदस्यहरुलाई २९ लाख ६२ हजार ५०० रुपैयाँ उपचार सुविधा प्रदान गरेको छ । यस्तै मुटु, मिर्गौला, क्यान्सरजस्ता घातक रोगहरुको उपचारमा ३३ जना सदस्यहरुलाई १६ लाख ५० हजार रुपैयाँ उपचार खर्च प्रदान गरिएको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी, संस्थाका ७५ जना सदस्य वा तिनका श्रीमान श्रीमतीको निधनमा काजकिरिया खर्च वापत गत वर्ष मेची सहकारीले २७ लाख ३१ हजार ४०० रुपैयाँ राहत प्रदान गरेको छ । सदस्यका मातापिताको निधनमा पनि मेची सहकारीले काजकिरिया खर्च प्रदान गर्दै आएको छ । सो शीर्षकमा गत आर्थिक वर्षमा २२५ सदस्यलाई ११ लाख २५ हजार रुपैयाँ प्रदान गरिएको छ ।

संस्थाले ३३२ जना सदस्यको परिवारमा समवेदनासहित उपस्थित भएर सान्त्वना प्रदान गरेको प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले जनाएका छन् । उक्त प्रयोजनमा २ लाख ६५ हजार ६०० रुपैयाँ खर्च भएको छ । सदस्यहरुलाई संस्थाप्रति आकर्षित गरिरहन मेची सहकारीले २९ वटा सुविधाहरु प्रदान गर्ने गरेको छ । तिनै सुविधाहरु मध्ये ११८ जना ज्येष्ठ सदस्यहरुलाई जनही १ हजार ७०० रुपैयाँका दरले भत्ता प्रदान गर्दा २ लाख ६०० रुपैयाँ र ५१ जना ज्येष्ठ सदस्यहरुलाई आन्तरिक पर्यटन भ्रमण गराउँदा ४ लाख २ हजार ८६५ रुपैयाँ खर्च भएको छ ।

संस्थाले १ जना सदस्यलाई दुर्घटना बीमावापत १ लाख रुपैयाँ, ३ जना सदस्यको कर्जा बीमावापत ४ लाख ५० हजार प्रदान गरेको, ३ जना सदस्यले दैवी विपत्ती सहनु परेकोले सहयोगस्वरुप १ लाख ५० हजार रुपैयाँ राहत सहयोग प्रदान गरिएको तथ्याङ्कमा उल्लेख छ । यस्तै संस्थाका १०३ जना सदस्यले दाँत परिवर्तनसहितको उपचार सुविधा पाएका छन् । सो प्रयोजनमा ५ लाख १५ हजार रुपैयाँ खर्च भएको छ भने ५ जना सदस्यहरुलाई प्यारालाइसिस भएकाले उपचार सहयोग वापत १ लाख ५० हजार प्रदान गरिएको छ । यस्तै ३ जना सदस्यलाई सर्पले डसेकोले उपचार सहयोगार्थ १२ हजार ९०० रुपैयाँ प्रदान गरिएको छ ।

संस्थामा आवद्ध सदस्यका ८ जना छोराछोरीलाई कक्षा १२ उत्तीर्ण गर्दा उत्कृष्ट अंक हासिल गरेकोमा पुरस्कार वापत ८० हजार रुपैयाँ प्रदान गरिएको थियो भने सदस्य परिवारमा छोराछोरी जन्मिँदा ८७ वटा बालबचत खाता खोलिदिएर ८७ हजार रुपैयाँ प्रोत्साहन सुविधा प्रदान गरिएको तथ्याङ्कमा उल्लेख छ ।

मेची सहकारीले एकल महिलाहरुका लागि शेयरमा एकपटक ३ हजार रुपैयाँ बोनस थपिदिने गरेको छ भने संस्था परिवारमा बुहारी बनेर आउने नयाँ सदस्यलाई १ हजार रुपैयाँको शेयर बोनस प्रदान गरी खाता खोलिदिने फरक अभ्यास छ । गतआर्थिक वर्षमा नयाँ बुहारीहरु २३ जनाका लागि २३ हजार र एकल जीवन बिताउन बाध्य भएका १७ महिलाहरुलाई ५१ हजार रुपैयाँ शेयर बोनस प्रदान गरेको छ ।

संस्थाका बाल बचतकर्ताहरुका लागि सञ्चालन गरिएको चित्रकला, हिज्जे, प्रश्नोत्तर प्रतियोगितामा ३६७ जना सहभागी भएका थिए । सो प्रयोजनमा २ लाख ९३ हजार ६०० रुपैयाँ खर्च भएको थियो भने विद्यालय प्रथम हुने ४ जना बालबालिकालाई पुरस्कार वापत २० हजार रुपैयाँ प्रदान गरिएको तथ्याङ्कमा उल्लेख छ ।

माथि उल्लेखित १९ वटा विभिन्न सुविधाका शीर्षकहरु बाहेक पनि मेची सहकारीले अरुभन्दा भिन्न २५ जना बालबालिकाको अभिभावकत्व लिएर विभिन्न विद्यालयमा भर्ना गरिदिएको छ । कक्षा १२ सम्म अध्ययन गर्दा संस्थाले उनीहरुको शिक्षण शुल्क ब्यहोर्ने र सो पछि संस्थामा रोजगारी गर्न चाहेमा प्रदान गर्ने नीति पनि बनाइएको संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराई बताउँछन् । समुदायमा आधारित सहकारी संस्था भएकाले सहकारीको अन्तर्राष्ट्रिय सिद्धान्त अनुसार नै यस्ता सामाजिक गतिविधिहरुले निरन्तरता पाउँदै आएको अध्यक्ष भट्टराईको भनाई छ ।

चालू आर्थिक वर्षमा पनि मेची सहकारीले शैक्षिक अभिभावकत्व ग्रहण कार्यक्रमलाई निरन्तरता दिने, स्वास्थ्य शिविरहरुलाई निरन्तर सञ्चालन गर्ने, आँखा दान, शरीर दान कार्यक्रमले निरन्तरता पाउने, दैवी विपत्तीमा परेका समुदायलाई राहत तथा उद्धारमा सहयोग गर्ने, सदस्य वा सदस्य परिवारमा समवेदनासहित एउटा बिरुवा लिएर जाने र मृतकको सम्झनामा विरुवा रोप्ने कार्यलाई निरन्तरता दिइने अध्यक्ष भट्टराईले बताएका छन् ।

सम्बन्धित खबर