२०८१ माघ १२, शनिवार , १०:४०:५२ बजे

Sajhamanch
'

जंगली हात्तीबाट जनधन जोगाउन बिर्तामोडमा इलेक्ट्रो फेन्सिङ निर्माण सुरु

बिहिवार, साउन ३१, २०८१

बिर्तामोड । बिर्तामोड‌मा सौर्य उर्जामा आधारित विद्युतीय तारवार निर्माणको काम सुरु भएको छ।

जंगली हात्ती नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले बिर्तामोडको वडा नम्बर ६, ७ र ८ मा सोलार ईलेक्ट्रिक फेन्सिङ वाल निर्माणको काम सुरु गरेको हो ।

वडा नम्बर ६ को देउनिया पूलदेखि वडा नम्बर ८ स्थित किसनभिट्टासम्मको ९ किलोमिटर क्षेत्रमा तारबार निर्माण हुन लागेको कोषले जनाएको छ । तारबार निर्माण कार्यको नगरप्रमुख पवित्रा महतारा प्रसाईले बिहीबार शिलान्यास गरेकी छन् ।

शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले जंगली हात्ती नियन्त्रणका लागि विद्युतीय तारवार प्रभावकारी हुने दावी गरिन् । उनले बढ्दो मानवीय क्षति कम गर्नका लागि विद्युतीय तारबार फलदायी हुने अपेक्षा राखेको सुनाउँदै हात्तीका लागि मनपर्ने आहारा व्यवस्थापन गर्न पनि स्थानीय सरकार र सामुदायिक वन उपभोक्ता समिति लाग्नुपर्ने आवश्यकता औंल्याइन् ।

शिलान्यास कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले मानव बस्तीमा जंगली हात्ती छिरेर असर गर्दै आएको लामो समयदेखिको बाध्यतालाई यसले अन्त्य गर्ने अपेक्षा सुनाए । उनले यति छोटो दूरीको इलेक्ट्रो फेन्सिङ पर्याप्त नभए पनि आगामी दिनमा थप व्यवस्थित गर्दै लैजानु पर्ने बताए ।

सो कार्यक्रममा बोल्दै राप्रपा नगर अध्यक्ष रञ्जु प्याकुरेलले हात्ती नियन्त्रणका लागि तारबार प्रभावकारी हुने भएकोले सबैले सहयोग गर्नु पर्ने बताइन् ।

हरियाली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जगतकुमार राईले विद्युतीय तारबार निर्माण पछि स्थानीयको बालीनालीमा यसअघि हुने गरेको क्षति कम हुने विश्वास व्यक्त गरे ।

कूल १ करोड ३२ लाख ३६ हजार ५२० रुपैयाँको लागतमा तारबार निर्माण हुन लागेको हो । यसको ठेक्का फुङ्फुङ्गे शैलेश्वरी निर्माण सेवाले लिएको छ । ठेक्का सम्झौता अनुसार २०८१ कात्तिक २९ गतेसम्ममा योजना सम्पन्न गर्नु पर्नेछ ।

संरक्षण कोषका कोशी प्रदेश प्रमुख विरेन्द्र गौतमका अनुसार सुरुमा बाहुनडाँगीको १८ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार निर्माण गरीएको थियो । अहिलेसम्म झापाको जलथल र चाराआलीमा समेत गरी झापाको ७६ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार भइसकेको गौतमले जानकारी दिए ।

सम्बन्धित खबर