२०८१ पौष २७, शनिवार , ०६:३३:४६ बजे

Sajhamanch
'

कनकाई ‘श्रमिक स्वावलम्बन उद्योग लिमिटेड’को हालत किन यस्तो !

बिहिवार, साउन ३१, २०८१

कनकाई । मजदुरलाई मालिक बनाउने कनकाई नगरपालिकाको अत्यन्तै महत्वाकांक्षी योजना अलपत्र परेको पाइएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा समेत दर्ता भइसकेको कनकाई वडा नं. ७ स्थित श्रमिक स्वावलम्बन उद्योग लिमिटेड यतिबेला अलपत्र अवस्थामा पुगेको हो ।

स्थानीय तहको पहिलो कार्यकालमा नगर क्षेत्रमा रहेका मजदुरलाई मालिक बनाउने महत्वकांक्षी योजनाका साथ सो कम्पनी दर्ता भएको जनाइएको छ । कनकाई नगरपालिकाले एक करोड रुपैयाँ बजेट व्यवस्थापन पछि कम्पनी स्थापना गरी दुर्गापुर बजार पूर्वतर्फ एक बिगाहा १७ कठ्ठा जमिनमा भौतिक निर्माण सुरु गरिएको उद्योग पाँच वर्ष पूरा हुँदा पनि निर्माण सम्पन्न भई प्रयोगमा ल्याइएको छैन ।

बरु वरिपरी प्लम उठाएर तारजालीसहित व्यवस्थित घेराबारा गरेर फलामे गेट पनि लगाएको प्रस्तावित उद्योग क्षेत्र अहिले दुव्र्यसनीहरुको सुरक्षित अखडा बन्दै गएको छ । स्थानीयबासीका अनुसार बिरिङ खोलाको बगरमा घाँसपात, रुख बोटबिरुवाले ढाकेको एकान्त ठाउँमा बनाइएको उद्योग क्षेत्रको आसपासमा यतिबेला साँझ बिहानको समयमा सुरुक्षाका दृष्टिले एक्लै दोक्लै हिड्न सक्ने अवस्था छैन ।

कम्पनीका लागि व्यवस्थापन गरिएको जमिनमा घेराबारासहित एउटा उत्पादन घर, कार्यालय भवनसहित शौचालय निर्माण भएको छ । उक्त निर्माण कार्यमा साढे ३३ लाखभन्दा बढी नै खर्च भएको तत्कालीन उपभोक्ता समितिका सचिव प्रेमप्रसाद अधिकारी बताउँछन् ।

आफूहरु उपभोक्ता समितिमा रहे पनि नगरपालिकाबाटै आर्थिक कारोबार हुने भएकाले सो योजनाका लागि अरु के कति खर्च भएको छ थप जानकारी नभएको तत्कालिन सचिव अधिकारीको भनाई छ ।

उक्त उद्योगबाट प्रारम्भिक चरणमा पेवर्स (ब्लक) उत्पादन गर्ने, त्यसपछि क्रमिक रुपले ह्युमपाइप र विद्युत पोल उत्पादन गर्ने योजना बनाएको बताइन्छ । सोही प्रयोजनले सिमेन्टका उत्पादनहरु भिजाउन एउटा पोखरी पनि निर्माण सम्पन्न भइसकेको तत्कालिन उपभोक्ता समितिका अध्यक्ष मात्रिका पोखरेल बताउँछन् ।

उद्योगको भौतिक संरचना निर्माण कार्य सम्पन्न भए पछि मेसिन खरिद गर्न नगरपालिकाबाट टेण्डर आव्हान पनि गरिएको थियो । तर सामग्री खरिदका लागि कम दर रेट राखेर बोलपत्र आह्वान गरिएका कारण कुनै पनि सप्लायर्सले टेण्डर नहालेको बताइन्छ । सो पछि रोकिएको कामले हालसम्म पनि पुनः निरन्तरता पाउन सकेको छैन ।

नगरपालिकाले महत्वाकांक्षी कार्यक्रम बनाएर बजेट विनियोजन गरे पनि मेसिन औजार र पूर्ण भौतिक संरचना निर्माण गरी उद्योग सञ्चालनमा ल्याउन पहल नगरेको सरोकारवालाको बुझाई छ । नगरपालिकाको तर्फबाट तत्कालिन उपभोक्ता समितिलाई अहिलेसम्म थप केही निर्देशन नआएकोले प्रस्तावित उद्योग अब के हुन्छ भन्ने कुरा अन्यौलमै रहेको अध्यक्ष पोखरेलको भनाई छ ।

कनकाई नगर क्षेत्रका मजदुरहरुलाई प्राथमिकतामा राखेर उद्योग सञ्चालन गर्ने नगरको महत्वकांक्षी योजना निर्माणस्थलमा विद्युत विस्तारका लागि कालो तारको समेत व्यवस्थापन मिलाइसकेको र अब विद्युत मिटर राख्ने काम मात्र बाँकी रहेको बताइएको छ । विद्युत मिटरसहित सामग्री निर्माणका लागि आवश्यक फर्मा तथा मेसिन औजारको व्यवस्थापन हुन सकेमा तत्काल उद्योग सञ्चालनमा आउन सक्ने अवस्था रहेको समितिका अध्यक्ष पोखरेलले जानकारी दिए ।

उद्योग सञ्चालनमा ल्याउन सकेमा स्थानीय मजदुरहरुले रोजगारीको अवसर पाउनुका साथै कनकाई नगरपालिकाको दिगो आर्थिक स्रोतको एउटा भरपर्दो माध्यम बन्न सक्ने सरोकारवाला बताउँछन् ।

सो सम्बन्धी नगरपालिकाको धारणा के हो भनी प्रवक्तासमेत रहेका वडा नं. ५ का वडाअध्यक्ष कृष्णबहादुर राईलाई जिज्ञासा राख्दा सो योजनाको पछिल्लो अवस्थाका बारेमा आफूलाई केही पनि जानकारी नभएको बताए । कार्यपालिकाको बैठकमा हालसम्म श्रमिक स्वावलम्बन उद्योगका बारेमा केही पनि छलफल नभएका कारण सो विषयमा आफू केही भन्न नसक्ने प्रवक्ता राईले प्रष्ट पारेका थिए ।

आफू नगरपालिकाको नाममात्रको प्रवक्ता भएको भन्दै राईले प्रवक्ताले खेल्नु पर्ने भूमिकाका साथै काम, कर्तव्य र अधिकारका बारेमा नगरपालिकाले आफूलाई औपचारिक रुपमा त्यस्तो केही पनि अनुमति नदिएकाले आफ्नो वडादेखि बाहेक अरु विषयमा आफूलाई केही पनि नसोध्न उनले आग्रह गरे ।

कनकाई नगर क्षेत्रमा बिजुली, प्लम्बर, पेन्टर, कंक्रिट उद्योग, राजमिस्त्री, ग्रिल उद्योग, टेम्पो, सफारी, छोटा हात्ती, सबै किसिमका सवारी साधनको ग्यारेज, लोड अनलोड, निर्माण लगायतका क्षेत्रमा काम गर्ने १० हजारभन्दा बढी मजदुरहरु थिए हाल काम र उचित दाम पाउन छाडेपछि धेरै मजदुरहरु पलायन भएका स्वतन्त्र मजदुर संगठन कनकाई नगर समितिका पूर्व अध्यक्ष केशर न्यौपानेले जानकारी दिए ।

नयाँ ब्यवस्था, नयाँ जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हालेसँगै मजदुरहरुको समेत सुनिश्चित भविष्यका लागि उक्त उद्योगको स्थापनाबाट केही आशा पलाएको भए पनि कार्यान्वयन पक्ष कमजोर भएकाले क्रमिक रुपले अधिकांश मजदुरहरुमा निराशा छाएको मजदुर नेता न्यौपाने बताउँछन् ।

सो विषयमा विस्तृतमा जानकारी लिन नगरप्रमुख राजेन्द्रकुमार पोखरेलसँग समय माग्दा उनले ‘ब्यस्तता’ देखाएर सञ्चारकर्मीहरुसँग बोल्न चाहेनन् ।

रामप्रसाद निरौलाको रिपोर्ट

सम्बन्धित खबर