काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रसेवकहरु सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने गरेको बताएका छन् । ललितपुरमा बुधवार आयोजित सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी अधिकृतस्तरीय सेवाप्रवेश तालिम—२०८१ समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले यदाकदा सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने प्रवृत्ति देखिएको भन्दै सबैप्रति समान व्यवहार गर्न आग्रह गरे। उनले पोशाकका आधारमा व्यवहार नगरी सेवाग्राहीका समस्याहरु बुझेर यथोचित ढंगले सम्बोधन गर्न निर्देशन दिए।
उनले आफूलाई असल राष्ट्रसेवक प्रमाािण्त गर्नका लागि सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्ने बताए। उनले सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्ने र सहज ढंगबाट सेवा प्राप्त गर्ने अनुकुल परिस्थिति निर्माण गर्ने काममा ध्यान दिन आग्रह गरे। उनले हाकिमको आदेश भन्दा पनि कानूनसँग, राष्ट्रको हित, नागरिकको हितसँग बाझिएका बाहेकमा डराउनुपर्ने स्थिति नरहेको बताए।
उपप्रधानमन्त्री पौडेलले सरुवा/बढुवाका लागि मन्त्री र नेताको घर नजान पनि आग्रह गरे। उनले सरुवा/बढुवामा अन्यथा भए मर्यादित ढंगले आफ्ना तर्कहरु राख्न आग्रह गरे। उनले सोर्स लगाउने कर्मचारीहरु क्षमताले जतिसुकै सक्षम भएपनि निरिह र कमजोर हुने बताए।
उनले उनीहरु राष्ट्रको सेवा भन्दा पनि सोर्स लगाउनेप्रति अनुगृहित हुने बताए । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले पछिल्ला दिनहरुमा केही गम्भीर चुनौतिको सामना गरिरहेको बताए। राजश्व परिचालनका दृष्टिकोणले लक्ष्य भेदन गर्न अफ्ठ्यारो परिरहेको र बेरुजु बढिरहेको बताए । लेखा प्रणालीमा दुरुस्त हुन नसकिरहेको बताए।