
काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको काम कारबाहीप्रति सन्तुष्टि व्यक्त गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा महामन्त्री थापाले प्रधानमन्त्रीले मेहनत गरेको देख्दा खुशी लागेको टिप्पणी गरेका हाुन । उनले मन्त्रीहरूलाई भने दुई वर्षको समय ठूलो भएकाले धेरै काम गर्न सकिने बताए।
महामन्त्री थापाले कामका आधारमा मन्त्रीहरूको प्रशंसा र आलोचना दुवै गर्ने पनि बताए । उनले मन्त्रीहरूलाई आफ्नो कार्यकाल हेरेर कार्ययोजना बनाउन पनि सुझाव दिए। सरकारका मन्त्रीहरूलाई काम गर्नका लागि आफूले सधैँ साथ दिने महामन्त्री थापाले प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, ‘प्रधानमन्त्रीले मेहनत गरेको देखिराखेको छु । खुशी लागेको छ । मन्त्रीजीहरूले शुरुमा खादामाला लगाउनुभएको भए पनि बिस्तारै बिस्तारै कार्ययोजनाहरू बनाई राख्नुभएको छ । यो २४ महिनाका लागि मन्त्री हुनुभएको छ । यो समय भनेको सानो समय होइन । नौ महिनाको मन्त्री हुँदाको मेरो अनुभव छ । यो समयभित्र धेरै गर्न सकिन्छ ।’
महामन्त्री थापाले एक महिनाको अवधिमा कार्ययोजना बनाउने काममा मन्त्रीहरूले समय व्यतित गरेको आफूले बुझेको उल्लेख गर्दै अब काममा तीव्रता दिनुपर्ने बताए।