२०८१ पौष १४, आइतवार , ०९:३३:०४ बजे

Sajhamanch
'

कोशीमा कांग्रेसलाई ५ मन्त्रालय चाहिए पछि गृहकार्यमा मुख्यमन्त्री

सोमवार, साउन २८, २०८१

विराटनगर । सरकारमा सहभागी हुने निर्णय गरे पनि आन्तरिक विवादमा फसेको नेपाली कांग्रेसलाई कोशी प्रदेशमा ५ वटा मन्त्रालय चाहिने भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई सकस भएको छ ।

राजेन्द्रकुमार राई नेतृत्वको सरकारले २०७८ माघ २३ गते प्रदेशको ७ वटा मन्त्रालयलाई विभाजन गरी १३ वटा बनाएको थियो । तर सोको एक वर्ष पछि २०७९ पुष २५ मा पहिलो पटक मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले मन्त्रालय संख्या घटाएर ९ बनाउने निर्णय गरेका थिए ।

तर अहिले नेपाली कांग्रेससँग सत्ता समीकरण भएपछि दुई पार्टीले ४–४ मन्त्रालय लिने सहमति भए पनि आन्तरिक बाँडफाँटमा सहमति नजुटेका कारण कांग्रेस सरकारमा सहभागी भएको छैन ।

४ वटा मन्त्रालय पाएको कांग्रेस संस्थापन पक्षले २ वटा राखेर डा. शेखर कोइराला र कृष्णप्रसाद सिटौला पक्षलाई १–१ वटा दिने तयारी गरेकोमा डा. कोइरालाले दुईवटा मन्त्रालय मागेपछि कांग्रेसमा सहमति जुटेको छैन । यही चपेटामा मुख्यमन्त्री कार्की परेकाले सहज निकासका लागि मन्त्रालय विभाजन गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

मन्त्रालय विभाजन गर्ने तयारी भएका कारण कांग्रसले मन्त्रीको नाम नपठाएको स्रोतको दाबी छ । ‘उहाँहरूबीच कुरा भएको भन्ने छ, मुख्यमन्त्रीले गृहकार्य गरिरहनु भएको छ,’ कांग्रेसका एक सांसदले भने, ‘कांग्रेसलाई भाग पुर्‍याउँदा उहाँले पनि एक मन्त्री थप्न पाउनुहुन्छ ।’

प्रदेशमा हाल ९ वटा मन्त्रालय छन् । थप गरेर ११ बनाउने तयारी छ । ‘हिजोको सहमतिमा मुख्यमन्त्री बाहेक ४–४ मन्त्रालय लिने सहमति हो, अहिले थप गरेर ११ बनाउँदा ५–५ हुन्छ,’ स्रोतले भन्यो, ‘सरकारमा सहभागी हुनका लागि चाहिँ भदौ लाग्ला ।’

सम्बन्धित खबर