काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जलनको उपचार निःशुल्क हुने बताएका छन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश र सङ्घ अन्तर्गतका अस्पतालमा जलनको उपचार निःशुल्क हुने बताएका हुन् ।
प्रदेश र सङ्घ अन्तर्गतका अस्पतालमा जलन सेवा नभएमा सेवा थप गरेरै भएपनि निःशुल्क रूपमा सो सेवा दिने उनले बताए । मन्त्री पौडेलले बर्सेनि एक पटक राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण हुने समेत बताए ।
सहिद गङ्गालाल राष्ट्रिय ह्रदयरोग केन्द्रमा खेलाडीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिने मन्त्री पौडेलले बताए ।