झापा । झापाका दुई वटा वनले राष्ट्रिय पुरस्कार पाएका छन् ।
सामुदायिक वनतर्फ दियालो सामुदायिक वन उपभोक्ता समूह भद्रपुर–१ तृतीय र निजीतर्फ अमररुद्र वन वाटिका अर्जुनधारा–४ द्वितीय भएको डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी अन्जना पुरीले जानकारी दिए।
वन तथा भू–संरक्षण विभागले सामुदायिक वन दिवस २०८१ को अवसरमा ती दुई वनलाई जनही ५०/५० हजार रुपैयाँसहित राष्ट्रिय पुस्कार प्रदान गरेको उनले बताए।
त्यस्तै, जिल्लास्तरीय पुरस्कारबाट झापाका सामुदायिक वन समूहतर्फ हरियाली सामुदायिक वन उपभोक्ता समूह बिर्तामोड–६ प्रथम, प्रजापति सामुदायिक वन उपभोक्ता समूह, कनकाई–१ द्वितीय र पूर्वदेउराली सामुदायिक वन उपभोक्ता समूह कचनकवल–१ तृतीय भई पुरस्कृत भएको जनाइएको छ ।
यस्तै, नीजि वनतर्फ पवित्रादेवि लामिछाने गौरीगञ्ज–१, मेघराज बिमली बाह्रदशी–५, रतनलाल अग्रवाल झापा–१ पुरस्कृत भएका छन् ।
यस्तै, कर्मचारी तर्फ डिल्लीराम खरेल, कुवेर न्यौपाने, प्रतबहादुर तामाङ, निर्मल प्रधान, कृष्णप्रसाद निरौला, हरि राई, अनिश बुढाथोकी, कुमार खड्का, भीष्म सापकोटा र नरबहादुर सुनुवार पुरस्कृत भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।
झापामा १५ हजार ८३१ दशमवल २४ हेक्टरमा ५९ वटा सामुदायिक वन रहेका छन् । दुई वटा कबुलियत वन (११३ दशमलव ६ हेक्टर), ४३७ वटा निजी वन (४१२ दशमलव ०८ हेक्टर), रतुवामाइ वृक्षरोपण आयोजना (२ हजार ८५३), एग्रो फरेष्ट्री प्रमोसन (९८ दशमलव ६) र स्काउट वन (१५ हेक्टर) रहेको कार्यालयले जनाएको छ ।