२०८१ पौष १३, शनिवार , १०:१३:४७ बजे

Sajhamanch
'

सताक्षीधाममा मन्त्री कार्कीद्वारा अवलोकन, सतासी खोलामा तटबन्धन गरिने

शुक्रवार, साउन २५, २०८१

शिवसताक्षी । झापाको प्रसिद्ध तीर्थस्थल सताक्षीधाममा आज प्रदेशमन्त्री एकराज कार्की तथा प्रदेश सांसद राधाकृष्ण खनालले स्थलगत अनुगमन गरेका छन् ।

कोशी प्रदेशका खानेपानी, सिंचाई तथा उर्जामन्त्री कार्कीले सताक्षीधाम परिसर भित्र सताक्षी खोला नियन्त्रणका लागि स्थलगत अनुगमन गरेका हुन् । पछिल्लो समय धार्मिक क्षेत्र सताक्षीधाममा सँगैरहेको सतासी खोलाले कटान सुरु गरेपछि धाम संकटमा पर्दे आएको छ ।

उक्त क्षेत्रमा दीर्घकालिन तटबन्धन निर्माण गर्न कोशी प्रदेशका मन्त्रीसहितको टोलीले स्थलगत अनुगमन गरेको सताक्षीधाम पर्यटन विकास समितिका अध्यक्ष तुला बोखिमले जानकारी दिए ।

अवलोकनका क्रममा मन्त्री कार्कीले तटबन्धन धेरै गर्नुपर्ने भएकाले डिपिआर तयारी गरी काम अगाडि बढाउनुपर्ने बताए । उनले भने, अहिले बर्खाको समय भएकाले अस्थायी रुपमा तटबन्ध गर्नुपर्ने भएमा तत्कालका लागि रोकथाम गरौं । दीर्घकालिन तटबन्ध ठूलो रकम आवश्यक पर्ने भएकाले डिपिआर तयार गरी प्रकृया अगाडि बढाउने उनको भनाई थियो ।

गोवद्र्धन गोलोकका संरक्षक तथा अध्यक्ष नन्दकिशोर भारद्वज र धामका अध्यक्ष बोखिमले मन्त्री कार्कीलाई धामका समस्याहरुका बारेमा जानकारी गराएका थिए ।

टोलीले सताक्षीधाम परिसरमा निर्माण हुँदै गरेको ८७ धाराको समेत अवलोकन गरेको थियो । सताक्षीधामको पूर्वपट्टी सतासी खोलामा श्रद्धालु भक्तजनहरुलाई स्नान गर्नेको लागि बनाउन सुरु गरिएको धारा निर्माणको काम अन्तिम चरणमा पुगेको सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिको सचिव कालीप्रसाद रिजालले जानकारी दिएका छन् ।

उनका अनुसार हाल निर्माण गरिँदै आएका धाराहरु भक्तजनहरु र विभिन्न व्यक्तिहरुले एक धारा बराबार २५ हजार रुपैयाँको सहयोगबाट निर्माण हुँदै आएको हो । अनुगमनमा शिवसताक्षी नगरपालिकाका उपप्रमुख नरमाया कार्की, वडाध्यक्ष बहादुर आङ्गबो, नेकपा एमाले प्रदेश कमिटी सदस्य चन्द्रकुमार शेर्मा, जिल्ला कमिटी सदस्य धनबहादुर थेवे, नगर कमिटी सचिव लक्ष्मी गुरागाईं लगायत सहभागी थिए ।

सम्बन्धित खबर