झापा । देशका धेरै सहकारी संस्थाहरुले आफ्ना सदस्यसँगै समुदायको उन्नयनका लागि काम गरिरहेको देखेर कतिपय तत्वहरुले अभियान माथि नै असर पुग्नेगरी विष वमन गर्न छाडेका छैनन् । तर सदस्यद्वारा स्थापित र सदस्यकै लागि सञ्चालित वित्तीय क्षेत्र सहकारी संस्थाहरुले आफ्ना सदस्य एवम् समुदायका लागि चाहिँ निरन्तर योगदान दिइरहेका छन् ।
पछिल्ला केही वर्षदेखि सहकारी संस्थाहरुबीच वित्तीय कारोबारमा अघोषित प्रतिष्पर्धा छ र सदस्यलाई सुविधा प्रदान गर्ने होडबाजी पनि चल्ने गरेको छ । सदस्य विस्तार गरी बचत वृद्धि गर्ने उद्देश्यले एउटाले भन्दा अर्को संस्थाले सदस्यलाई बढी सुविधा प्रदान गर्ने योजनाहरु बिस्तार गरिरहेका छन् । र, सर्वसाधारणले पनि सहकारी संस्थाको सदस्य बन्नका लागि त्यहाँबाट पाइने सुविधा र आफ्नो रकमको सुरक्षाका विषयमा पूर्व जानकारी लिएरमात्र कारोबार गर्न थालेका छन् ।
समुदायमा सहकारी शृङ्खलामा विभिन्न सहकारी संस्थाहरुले सदस्य एवम् समुदायका लागि पुर्याइरहेको योगदानका बारेमा चर्चा गरिँदै आएको छ । सोहीक्रमको तेस्रो शृङ्खलामा कर्णाली बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोडलाई प्रस्तुत गरिएको छ ।
वित्तीय अवस्था :
मुलुककै ठूलोमध्येको एक तथा कोशी प्रदेशको तेस्रो ठूलो संस्था झापाको बिर्तामोडमा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्था तीनवटा जिल्लाहरु झापा, मोरङ र इलामलाई कार्यक्षेत्र बनाएर बिस्तारित छ ।
आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तको वित्तीय बिवरण अनुसार कर्णाली साकोसको शेयर पूँजी ५१ करोड ९३ लाख ७५ हजार ७०० रुपैयाँ तथा निक्षेप बचत २ अर्ब ७८ करोड ८३ लाख ९४ हजार ११० रुपैंयाँ रहेको छ ।
कार्यक्षेत्रका विभिन्न ४२ स्थानमा सेवा केन्द्रहरु विस्तार गरेको कर्णाली साकोसमा ५६ हजार ४०९ जना शेयर सदस्य रहेका छन् भने तीमध्ये १५ हजार ३५० जनाले संस्थाबाट ऋण कारोबार गरिरहेको विवरणमा उल्लेख छ ।
संस्थाको ३ अर्ब ७६ करोड ८० लाख ४८ हजार १५६ रुपैंयाँ ऋण लगानीमा रहेको छ भने संस्थागत पूँजी १५ करोड ६२ लाख ९८ हजार ४७२ रुपैंयाँ रहेको वित्तीय विवरणमा जनाइएको छ ।
सहकारी संस्थाको मेरुदण्ड मानिने जगेडा कोषमा कर्णाली साकोसले १३ करोड ६३ लाख ४९ हजार २४४ रुपैयाँ पुर्याएको छ भने विभिन्न कोषमा थप १२ करोड ९२ लाख ९६ हजार ४०२ रुपैंयाँ रहेको जनाइएको छ ।
संस्थाको कूल सम्पत्ति ४ अर्ब ५२ करोड ८२ लाख ८८ हजार ९३० रुपैंयाँ रहेको छ भने असार मसान्तमा संस्थामा २० दशमलव ७२ प्रतिशत अर्थात् ५७ करोड ७६ लाख ६७ हजार ८२८ रुपैंयाँ तरलता रहेको वित्तीय विवरणमा उल्लेख छ ।
सदस्यहरुप्रति अभिभावकीय भूमिका निर्वाहा गर्न तथा रचनात्मक कार्यक्रमका रुपमा कर्णाली साकोसले विशेष उपचार कोषको ब्यवस्था गरेको छ । सो कोषको सदस्य बनेकाहरुलाई विभिन्न दुर्घटना वा रोगको उपचार गर्दा संस्थाबाट १० लाख रुपैयाँसम्म उपचार खर्च ब्यहोर्ने नीति बनाइएको छ ।
सदस्य तथा समुदायमा पुर्याएको आर्थिक योगदान :
सदस्य संख्या, वित्तीय कारोबार एवम् सदस्य र समुदायप्रति जिम्मेवार संस्थाका रुपमा परिचित कोशी प्रदेशको तेस्रो ठूलो सहकारी कर्णाली साकोसले गत आर्थिक वर्ष २०८०/०८१ मा साढे ३ करोड रुपैयाँ राहत तथा सुविधा वापत वितरण गरेको छ ।
झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको तथा कोशी प्रदेशका मोरङ र इलाम जिल्लालाई समेत कार्यक्षेत्र बनाएको सो सहकारी संस्थाले ९ वटा शीर्षकमा ३ करोड ४९ लाख १८ हजार ११४ रुपैयाँ आफ्ना सदस्यको उपचार सुविधा, मृत्यु राहत, कर्जा मिनाहा तथा अन्य सामाजिक कार्यमा खर्च गरेको तथ्याङ्कमा उल्लेख छ ।
साकोसका लेखा विभाग प्रमुख लक्ष्मीनारायण भट्टराईले उपलब्ध गराएको तथ्याङ्क अनुसार संस्थाले सञ्चालन गरेको विशेष उपचार कोषमा आवद्ध ४५९ जना सदस्यको स्वास्थ्य उपचारमा १ करोड २० लाख ६५ हजार ८८७ रुपैयाँ खर्च भएको छ ।
यसरी नै अस्पताल बसेर गरिने सामान्य उपचार एवम् शल्यक्रियाहरुलाई अर्काे वर्गमा राखेर संस्थाले ७९१ जना सदस्यलाई साधारण उपचार सुविधा वापत ५० लाख ३४ हजार २६३ रुपैयाँ खर्च गरिएको लेखा विभाग प्रमुख भट्टराईले बताए ।
कर्णाली साकोसले संस्थाका सदस्य एवम् तिनको परिवारमा कसैको निधन भएमा समवेदनासहित मानोचामल र मृत्यु राहत लिएर जाने प्रचलनलाई निरन्तरता दिँदै गत आवमा १ हजार ५५५ सदस्यको सुविधामा १ करोड १७ लाख ८४ हजार २१८ रुपैयाँ खर्च गरेको देखाइएको छ ।
संस्थाले सदस्य परिवारमा हुने जन्मदेखि मृत्युसम्मका हरेक सुख दुःखका घटनामा अभिभावकत्व दर्शाउँदै यस्तो राहत र सुविधा प्रदान गर्ने नीतिगत व्यवस्था गरेको हो । सोही अनुसार ७३९ जना सदस्यलाई सुत्केरी सुविधावापत ३० लाख १४ हजार खर्च गरिएको छ ।
यसैगरी संस्थाका ऋणि सदस्यहरुको मृत्यु भएमा उनको नाममा बाँकी रहेको कर्जा मिनाहा गर्ने नीति लिएको कर्णाली साकोसले गत आर्थिक वर्ष २०८०/०८१ मा २० जनाको १६ लाख २८ हजार ७९६ रुपैयाँ कर्जा मिनाहा गरिएको तथ्याङ्क छ ।
कर्णाली साकोसले हरेक वर्ष बालबालिकाको शिक्षामा हौसला प्रदान गर्न छात्रवृत्ति उपलब्ध गराउने नीति अनुसार गत आवमा ७२ जनालाई ५ लाख ३९ हजार २०० रुपैयाँ खर्च गरेको छ । यसरी नै ज्येष्ठ नागरिकलाई भत्ता शीर्षकमा गत आवमा ५७ जनालाई ३ हजारका दरले १ लाख ७१ हजार रुपैयाँ वितरण गरिएको तथ्याङ्क छ ।
संस्थाले ७१ जना सदस्यहरुलाई १ लाख ८० हजार ७५० रुपैयाँ विविध सुविधा प्रदान गरेको तथा सदस्यहरुको रकम सुरक्षाका लागि ५ लाख रुपैयाँको बचत बीमा गरिएको जनाइएको छ ।