बिर्तामोड। नेपालमा केही वर्ष यता धान र चामलको आयात घट्दै गएको सरकारी तथ्याङ्कले देखाउँछ । तीन वर्षयता धान र चामलको आयात घट्दै गएको सरकारी तथ्याङ्क छ ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ९० हजार मेट्रिक टन चामल आयात भएको छ । यसका लागि १० अर्ब १७ करोड रुपैयाँ खर्च भएको छ ।
आर्थिक वर्ष २०७९/०८० मा २ लाख ३५ हजार मेट्रिक टन चामल आयात भएको थियो । यो वर्ष १६ अर्ब ६६ करोड रुपैयाँ चामल आयातमा खर्च भएको विभागको तथ्याङ्क छ ।
त्यसको अघिल्लो आर्थिक वर्ष ५ लाख ८३ हजार मेट्रिक टन चामल आयात भएको थियो । यसबापत ३१ अर्ब ४५ करोड रुपैयाँ बाहिरिएको थियो ।
नेपालमा केही वर्ष यता धान आयात पनि घटेको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ३ लाख १९ हजार मेट्रिक टन धान आयात हुँदा १२ अर्ब ५ करोड रुपैयाँ खर्च भएको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा ५ लाख ५५ हजार मेट्रिक टन धान आयात भएको थियो, जसका लागि १९ अर्ब ९९ करोड रुपैयाँ खर्च भएको थियो ।
आर्थिक वर्ष २०७८/७९ मा ५ लाख ४५ हजार मेट्रिक टन धान आयात हुँदा १६ अर्ब १२ करोड रुपैयाँ खर्च भएको थियो ।
धान र चामल आयातमा गिरावट आउनु विभिन्न पक्ष हुन सक्ने विज्ञ बताउँछन् । तथ्याङ्कमा गडबडी हुन सक्ने, नेपालको उत्पादन वृद्धि, भात मात्रै नखाएर अन्य खाद्यान्न उपभोग बढेको जस्ता कारणले पनि धान र चामल आयात घटेको हुन सक्ने उनीहरूको अनुमान छ ।
त्यस्तै, वैदेशिक रोजगारी वा अध्ययनका लागि विदेश जाने नेपालीको संख्या बढ्दा पनि खाद्यान्नको आयात घट्ने कृषिविज्ञ तथा खानाका लागि खेतीपातीका अभियन्ता डक्टर कृष्णप्रसाद पौडेलको अनुमान छ ।
आर्थिक वर्ष २०७९/०८० को तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा धानको क्षेत्रफल घटे पनि उत्पादन भने वृद्धि भएको सरकारी तथ्याङ्क छ । आर्थिक २०८०/०८१ मा धानको कुल उत्पादन अघिल्लो आर्थिक वर्षको तुलनामा ४।३३ प्रतिशतले वृद्धि भएको हो ।
गत वर्ष ५७ लाख २४ हजार २३४ मेट्रिक टन र त्यसको अघिल्लो आर्थिक वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान फलेको थियो ।