२०८१ पौष १२, शुक्रवार , १०:१२:२७ बजे

Sajhamanch
'

भारतले खुलायो रानीगञ्ज नाका, काँकरभिट्टाबाट आउन थाले तेस्रो मुलुकका पर्यटक

मङ्गलवार, साउन २२, २०८१

मेचीनगर । नेपाल भारत सीमाको पूर्वी नाका भारत पश्चिम बंगालको रानीगञ्ज (पानीट्यांकी) को अध्यागमनले तेस्रो मुलुकबाट नेपाल आउने पर्यटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।

काँकरभिट्टासँग जोडिएको रानीगञ्जले नेपाली विद्यार्थी तथा भुटानीबाहेक तेस्रो मुलुकबाट नेपाली घुम्न आउने पर्यटकलाई प्रवेशाज्ञा (आगमन अनुमति) दिन रोक लगाउँदै आएको थियो ।

१ अगस्ट २०२४ देखि भारतीय पक्षले नाका खुलाएको अध्यगमन कार्यालय काँकरभिट्टाले जनाएको छ । प्रतिबन्ध खुलेसँगै तेस्रो मुलुकका पर्यटकले काँकरभिट्टा नाका प्रयोग गर्न थालेका छन् ।

तेस्रो मुलुकका लागि नाका खुलेको भारतीय पक्षले जानकारी गराएको अध्यगमन कार्यालय काँकरभिट्टाका कार्यालय प्रमुख मोहन पनेरुले जानकारी दिए ।

नाका खुलेयता बंगलादेशका दुई, युकेका एक, युएसएका तीन, स्विजरल्यान्डका चार, भुटानका १७ जना पर्यटक नेपाल प्रवेश गरेको तथ्याङ्क कार्यालयसँग छ ।

त्यस्तै, नर्वेका दुई, जापानका एक, स्विजरल्यान्डका एक, युकेका एक, भुटानका २३, बंगलादेश एकजना नागरिक काँकरभिट्टा नाका भएर बाहिरिएको कार्यालयले जनाएको छ ।

यसअघि भारतले प्रवेशाज्ञा नदिँदा पूर्वी नाकाबाट नेपाल घुम्न आउने पर्यटकको चहलपहल खासै नभएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठले जानकारी दिए ।

प्रवेशाज्ञाका विषयमा दुवै देशका अधिकारीहरुबीच छलफल भए पनि भारतले सुरक्षाको कारण देखाएर आगमन अनुमति दिएको थिएन । जसका कारण पूर्वी नाकाबाट स्थलमार्ग भएर ठुलो संख्यामा नेपाल आउने बंगलादेशीहरु आउन नपाएको नाट्टाका कोशी अध्यक्ष पुण्यप्रसाद भट्टराईले जानकारी दिए ।

अध्यगमन कार्यालय काँकरभिट्टाका अनुसार यो नाका भएर सबैभन्दा बढी बंगलादेशी पर्यटक आउने गरेका थिए ।

कार्यालयले सिरिया, अफगानिस्तान, इराक, घाना, जिम्बावे, नाइजेरिया, लाइबेरिया, इथोपिया, क्याम्ब्रुन, सोमालिया, प्यालेस्टाइन, स्विजरल्यान्डबाहेकका नागरिकलाई नेपाल प्रवेशको भिसा दिने गरेको छ ।

मङ्गलवार, साउन २२, २०८१ | मिडियाबाट साभार, समाज